फाल्डो जुनियर गल्फ : सद्भावको अग्रता

माघ २९, २०८१

कान्तिपुर संवाददाता

Faldo Junior Golf: Harmony Advances

काठमाडौँ — फाल्डो जुनियर गल्फ टुर नेपाल च्याम्पियनसिपको पहिलो दिन सद्भाव आचार्य शीर्षस्थानमा रहेका छन् । १ ओभर ६९ को स्कोरमा १७–२१ वर्ष उमेर समूहतर्फ सदभावले प्रकृत तामाङलाई ३ स्ट्रोकले पछि पारेका छन् ।

रोयल नेपाल गल्फ क्लबमा भएको प्रतियोगितामा नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भावले पहिलो र सातौं होलमा बर्डी प्रहार गरेका थिए । पाँचौं होलको डबल बोगीमा उनले फ्रन्टनाइन इभन–पार ३४ मा सके भने १० र १४औं होलमा एक–एक शट गुमाए । उनले १८ औं होलको बर्डीले ब्याकनाइन १ ओभर ३५ मा पूरा गरे ।

प्रकृतले ४ ओभर ७२ को स्कोरमा दिनको खेल टुंग्याए । उनले फ्रन्टनाइन २ अन्डर ३२ मा सके पनि त्यसपछि लय गुमाए । ब्याक ६ ओभर ४० मा सकेका थिए । स्वप्निल भट्टराई ७ ओभर ७५ को स्कोरसहित तेस्रो स्थानमा रहे ।

१२–१६ वर्ष उमेर समूहमा इदान्तसिंह साउद १२ ओभर ८० को स्कोरसहित अगाडि छन् । उनले दीपेश श्रेष्ठलाई ४ स्ट्रोकले पछि पारेका थिए । दीपेश १६ ओभर ८६ सहित दोस्रोमा छन् । सिद्धान्त सापकोटा १७ ओभर ८७ सहित तेस्रो स्थानमा रहे ।

गल्स १२–२१ वर्ष उमेर समूहमा अभानी राई २० ओभर ८८ सहित अगाडि रहिन् । उनले अनभद्या मल्ललाई १० स्ट्रोकले पछि पारिन् । अनभद्या ३० ओभर ९८ सहित दोस्रोमा रहिन् ।

चार प्रदेशका ३१ जुनियर गल्फरमध्ये पहिलो दिन १ सयभन्दा बढी स्कोर गर्ने १४ खेलाडी १८ होलपछि बाहिरिए ।

प्रत्येक समूहका विजेताले अप्रिल २३ देखि २५ सम्म भियतनामको ला–लगुनामा हुने फाल्डो जुनियर टुर एसिया ग्रान्ड फाइनलमा स्थान बनाउने छन् । नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव भने स्वतः छनोट भइसकेका छन् । नोभेम्बरमा सम्पन्न फाल्डो जुनियर टुर युरोपियन ग्रान्ड फाइनलमा यू–२१ तर्फ उपाधि जितेका कारण उनी स्वतः छनोट भएका हुन् ।

कान्तिपुर

Link copied successfully