टाइब्रेकरमा मछिन्द्रविरुद्ध थ्रीस्टार हाबी

लगातार दोस्रोपल्ट आहा रारा पोखरा गोल्डकपको उपाधितर्फ लम्कँदै थ्रीस्टार, नायक बने युवा गोलरक्षक सरिन जीसी

माघ २८, २०८१

दीपक परियार

Three Star Habi against Machindra in the tiebreaker

पोखरा — मछिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ ले हराउँदै थ्रीस्टार क्लब पोखरामा जारी २४ औं आहा–रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनल पुगेको छ । पाँचपल्टको उपाधि विजेता एवं साबिक उपविजेता थ्रीस्टारले आइतबार क्वाटरफाइनलमा मछिन्द्रलाई हराउँदा गोलरक्षक सरिन जीसी नायक बने ।

प्रशिक्षक गणेश खड्काले उनलाई खेलको अन्तिम समयमा अभिषेक बराललाई प्रतिस्थापन गर्दै मैदान प्रवेश गराएका थिए । उनको त्यही निर्णयले थ्रीस्टारलाई सेमिफाइनल पुर्‍याउन मद्दत गर्‍यो । 

निर्धारित ९० र अतिरिक्त ३० मिनेट गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । थ्रीस्टारका तर्फबाट दीपेश घले, फोफाना, विराज महर्जन र लक्ष्मण रुचालले गोल गरे । मछिन्द्रका विशाल घलानको प्रहार बारमा लागेर फर्कियो । अर्का खेलाडी आदित्य शाक्यको पेनाल्टी थ्रीस्टारका युवा गोलरक्षक सरिन जीसीले बचाए । मछिन्द्रका तर्फबाट दिवाकर चौधरी र सनिश श्रेष्ठले गोल गरे । थ्रीस्टारका दीपेश घले प्लेयर अफ द म्याच भए । 

अनुभवी खेलाडीले भरिएको थ्रीस्टार र राष्ट्रिय टिममा खेलेको अनुभव लिइसकेका झन्डै आधा दर्जन खेलाडी रहेको मछिन्द्रबीचको भिडन्त प्रतिस्पर्धात्मक हुने ठानिएको थियो । फलस्वरुप १ सय २० मिनेटसम्म गोल गर्ने दुवैको प्रयास विफल भयो ।

दुवैले पाएका अवसर सदुपयोग गर्न सकेनन् । खेलको दोस्रो मिनेटका थ्रीस्टारका डिफेन्डरले क्लियर नगरेको बल मछिन्द्रका मनीष डाँगीले प्रहार गरे पनि पोस्टलक्षित बन्न सकेन । खेलको १२ औं मिनेटमा मछिन्द्रले अग्रता लिने अर्को अवसर गुमायो । स्टेफेन कामाहाले बक्समा पुर्‍याएको बल नियन्त्रण गर्न नसक्दा गोल गर्न चुके । 

खेलको १९ औं मिनेटमा थ्रीस्टार अग्रता लिनबाट चुक्यो । दीपेश घलेले दायाँ भागबाट गरेको प्रहार बारमा लागेर फर्कियो । कमल श्रेष्ठले कर्नरबाट गरेको २४ औं मिनेटको प्रहार मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले बचाए । खेलको ७८ औं मिनेटमा मछिन्द्रका सनिश श्रेष्ठको फ्रिकिक थ्रीस्टारका खेलाडीले क्लियर गरिदिए ।

तर, कर्नर बनेको उक्त मुभमा सनिशले प्रहार गरेको बल सौरभ लिम्बूले पोस्टको दिशा दिन सकेनन् । थ्रीस्टारका फोडे फोफानाले इन्ज्युरी समय गरेको प्रहार पोस्टमा लागेर फर्किंयो । थ्रीस्टारका कलम श्रेष्ठलाई १ सय १६ औं मिनेटमा प्रतिस्थापन गर्दै अनुभवी खेलाडी विराज महर्जन मैदान प्रवेश गरे । अतिरिक्त समयको इन्ज्युरी समयमा प्रशिक्षकले गोलरक्षक पनि परिवर्तन गरे । 

मछिन्द्रले प्रि–क्वाटरफाइनलमा एपीएफलाई हराएर आएको थियो भने थ्रीस्टारले सिधैं क्वाटरफाइनल प्रवेश पाएको थियो । थ्रीस्टारले यसअघि ०६३, ०६७, ०६९, ०७१ र ०७५ मा उपाधि जितेको थियो । थ्रीस्टार गत वर्ष त्रिभुवन आर्मीसँग ३–० ले फाइनलमा पराजित भएको थियो । 

थ्रीस्टारले सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड र ब्ल्याक बुल्स फुटबल क्लब उज्वेकिस्तानबीचको विजेतासँग फागुन १ मा सेमिफाइनल खेल्नेछ । 

सोमबार चर्च ब्वाइज युनाइटेड र साबिक विजेता त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । चर्च ब्वाइजले एनआरटीलाई पराजित गर्दै क्वाटरफाइनल तय गरेको थियो । आर्मीले सोझै क्वाटरफाइनल खेल्न लागेको हो । 

दीपक परियार परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully