फाल्डो जुनियर गल्फ मंगलबारदेखि, सद्भाव र राहुल सम्मानित

माघ २८, २०८१

कान्तिपुर संवाददाता

From Faldo Junior Golf Tuesday, Sadhva and Rahul honored

काठमाडौँ — गल्फको प्रतिष्ठित फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिप मंगलबारदेखि रोयल नेपाल गल्फ क्लबमा हुँदै छ । ५४ होलको प्रतियोगितामा जुनियर गल्फरले विभिन्न तीन उमेर समूहमा प्रतिस्पर्धा गर्नेछन् । ब्वाइज (१७–२१ वर्ष तथा १२–१६ वर्ष) र गर्ल्स (१२–२१ वर्ष) मा प्रतिस्पर्धा हुनेछ ।

प्रत्येक समूहका विजेताले अप्रिल २३ देखि २५ सम्म भियतनामको ला–लगुनामा हुने फाल्डो जुनियर टुर एसिया ग्रान्ड फाइनलमा प्रतिस्पर्धाको अवसर प्राप्त गर्ने नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले जानकारी गराए । ब्वाइज १७–२१ वर्ष उमेरतर्फ सद्भाव आचार्यले सिधै फाइनलमा निमन्त्रणा पाएका कारण दुई जनाले सहभागिता जनाउने छन् । उनी फाल्डो जुनियर टुर युरोपियन ग्रान्ड फाइनलका साबिक विजेता हुन् ।

प्रतियोगितामा चार प्रदेशका ३१ जुनियर गल्फरको सहभागिता रहनेछ । त्यसमा नेपालका शीर्ष एमेच्योर गल्फर सद्भाव पनि प्रतिस्पर्धा हुनेछन् ।

सन् २०१२ देखि फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिप हुँदै आएको छ । यो सिरिज ६ पटकका मेजर च्याम्पियन सर निक फाल्डोको विश्वव्यापी जुनियर गल्फ प्रवर्द्धन अभियानको एक हिस्सा हो । उनले यस प्रतिष्ठित सिरिजमार्फत युवा प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरमा अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् ।

यसैबीच नेपाल गल्फ संघले ३८ औं बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपका उपाधि विजेता सद्भाव आचार्य‌ र राहुल विश्वकर्मालाई सम्मान गरेको छ ।

व्यक्तिगततर्फ स्वर्ण जितेका सद्भावलाई ५० हजारसहित सम्मानित गरियो । उनी यो उपाधि जित्ने पहिलो नेपाली गल्फर हुन् । सन १९८८ को दोस्रो संस्करणदेखि नेपालले भाग लिँदै आएको थियो । बंगलादेशका सफिकुल इस्लाम र मोहम्मद शाहबुद्दिनलाई ५ स्ट्रोकले हराएर सदभावले उपाधि जितेका थिए ।

नेपालमा नम्बर एक एमेच्योर गल्फर सद्भावले राहुल विश्वकर्मासँग मिलेर टिमतर्फको उपाधि पनि जितेका थिए । दुवैलाई जनही २५ हजारसहित सम्मान गरियो । यसअघि सन् २०१८ मा शुक्रबहादुर राई र टंकबहादुर कार्की तथा सन् २०२२ मा सुवास तामाङ र सद्भाव आचार्यले टिमतर्फ स्वर्ण जितेका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully