सीईसी काठमाडौं जिल्ला च्याम्पियन

माघ २८, २०८१

कान्तिपुर संवाददाता

CEC Kathmandu District Champion

काठमाडौँ — क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) ले काठमाडौं प्रधानमन्त्री कप राष्ट्रियका लागि आयोजित जिल्ला छनोट प्रतियोगिताम जितेको छ । ऋत गौतमको शतकमा सीईसीले शनिबार मूलपानी क्रिकेट मैदानमा भएको फाइनलमा ग्रेट हिमालय क्रिकेट एकेडेमीलाई १ सय ७ रनले पराजित गर्यो ।

प्लेयर अफ द फाइनल ऋतले १ सय २९ बलमा १ सय १३ रन बनाएपछि पहिला ब्याटिङ गरेको सीईसीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाई २ सय ६१ रन बनाएको थियो । त्यस्तै वीरेन्द्र धान्डीले ७९ बलमा ६७ र पृथु बाँस्कोटाले ४४ बलमा ४१ रन बनाए । ग्रेट हिमालयका इशान पाण्डेले ४५ रन खर्चेर ४, किरण बुढामगरले ४२ रन खर्चेर ३ र दर्शिल विष्टले १ विकेट लिए ।

इशानले ८६ बलमा अविजित १ सय ७ रन बनाए पनि जबाफमा आएको ग्रेट हिमालय २६.५ ओभरमा १ सय ५४ रनमा अलआउट भयो । रितेश आग्रीले ३६ बलमा २६ रन बनाए । सीईसीबाट पृथु, विवेकानन्द सहनी र दयानन्द मण्डलले २–२ विकेट लिए ।

काठमाडौं जिल्ला क्रिकेट संघ आयोजित प्रतियोगितामा ग्रेट हिमालयका इशान प्लेयर अफ द सिरिजमा चुनिए । त्यस्तै महावीर क्लबका सोनु देवकोटा उत्कृष्ट ब्याटर र न्यु भिजन क्लबका मोनसोन सिंह उत्कृष्ट बलर बने ।

कान्तिपुर संवाददाता

Link copied successfully