हेटौंडा — सातौं संस्करण बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता फागुन ३ देखि हुने भएको छ । बागमती गाउँपालिका खेलकुद विकास समितिले यसअघि फागुन १ देखि गर्ने जनाएको थियो ।
तयारी नपुगेपछि आयोजकको अनुरोधमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले बागमती गोल्डकपको मिति संशोधन गरेको हो ।
अब प्रतिस्पर्धा फागुन ३–१३ सम्म चल्ने समितिका अध्यक्ष रहरसिंह थिङले जानकारी गराए । स्पर्धा बागमती गाउँपालिका–४ झुरझुरेस्थित सहिद स्मृति रंगशालामा हुनेछ । यसअघिका संस्करण जनता मावि फापरबारीमा भएको थियो ।
विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । ए डिभिजनका ७, मोफसलका ३ टिमको भाग लिने प्रतियोगितामा सर्वोत्कृट खेलाडीले १ लाख १ हजार जित्नेछन् । गत वर्षको संस्करण मछिन्द्र क्लबले जितेको थियो ।
