अत्तरिया अर्जुन ट्रफी च्याम्पियन

फाप्लामा फापेको अत्तरिया

माघ २८, २०८१

अर्जुन शाह

Attaria Arjuna Trophy Champion

धनगढी — सीवाईसी अत्तरियाले अपराजित रहँदै अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । बलरहरूको उत्कृष्ट प्रदर्शनमा अत्तरियाले सोमबार भएको फाइनलमा फ्रेन्ड्स यूथ क्लब डडेलधुरालाई ३४ रनले पराजित गर्‍यो ।

टस जितेर ब्याटिङ रोजेको धनगढीले फाप्ला क्रिकेट मैदानमा ९ विकेट गुमाई १ सय १८ रनको स्कोर बनाएको थियो । तर देव्रेहाते स्पिनरद्वय साहब आलम र दीपेश कँडेलले ३–३ तथा विवेक यादव र कमल गुप्ताले २–२ विकेट लिएपछि सानदार पुनरागमन गरेको अत्तरियाले डडेलधुरालाई १८ ओभरमा ८४ रनमै अलआउट गरेको थियो ।

६ वर्ष अगाडि अत्तरियाले फाप्लामै धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधि जितेको थियो । त्यसयता यहाँ पहिलो पटक आयोजित राष्ट्रिय प्रतियोगितामा पनि अत्तरियाले आफ्नो पक्षमा पारेको हो । अत्तरियाले उपाधिसँगै १० लाख र उपविजेता डडेलधुराले ५ लाखको चेक हात पार्‍यो ।

अत्तरियाबाट रसिद खानले सर्वाधिक ३१ रन बनाए । २१ बल खेली १ चौका र ३ छक्का प्रहार गरेका उनी अन्तिम ओभरमा रन आउट भए । खेलको दोस्रो बलमै अजय चौहानले तृतराज दासलाई शून्यमा आउट गरेका थिए । सन्तोष कार्की र शंकर रानाले समान २० रन बनाए । कप्तान सन्तोषले २३ बल खेली ३ चौका र शंकरले २१ बल खेली २ चौका र १ छक्का प्रहार गरे ।

भीम सार्की ११ बल खेली १०, दीपेश ७, विवेक यादव ११, सन्दीप यादव ८ बल खेली समान १ चौका र छक्कासहित १२ र कमल गुप्ता १ रन बनाई आउट भए । साहब २ र निश्चल केसी १ रनमा अविजित रहे । डडेलधुराबाट अभिषेक गौतमले ४ विकेट लिए । उनले ४ ओभरमा १५ रन मात्र खर्चेका थिए । अजय चौहान र कुशल भुर्तेलले १–१ विकेट लिए ।

प्लेयर अफ द फाइनल साहबले ३ महत्त्वपूर्ण विकेट लिएपछि जबाफमा आएको डडेलधुरा तहसनहस हुन पुगेको थियो । दीपेशले इनिङ्सको दोस्रो बलमै आयुषमान बमलाई शून्यमा आउट गरेका थिए । साहबले विनोद भण्डारीलाई ५ र कुशललाई २० रनमा आउट गरे । कुशलले २२ बल खेली २ चौका प्रहार गरे ।

विवेकले गजेन्द्र बोहरालाई २४ र कप्तान सन्दीप जोरालाई ५ रनमा बोल्ड गरे । गजेन्द्रले डडेलधुराबाट सर्वाधिक रन बनाउनेक्रममा २८ बल खेली ३ चौका प्रहार गरे । अशोक धामी ११, किरण ठगुन्ना ३, अभिषेक १, हेमन्त धामी र रवि विष्ट समान २ रनमा आउट भए । साहबले ४ ओभरमा १ मेडन राख्दै ८ र दीपेशले ४ ओभरमा १४ रन खर्चे ।

धनगढी क्षेत्रका प्रशिक्षक अर्जुन खड्काको स्मृतिमा गो ड्रिमर्सले आयोजना गरेको प्रतियोगितामा अत्तरियाले समूह चरणको सबै ३ खेल जिती सेमिफाइनलमा अघिल्लो दिन डीसीए धनगढीलाई पन्छाएको थियो । व्यक्तिगत रूपमा उत्कृष्ट खेल्दै आएका डडेलधुराका कुशल भुर्तेल उत्कृष्ट बलर र उत्कृष्ट ब्याटर भए । कुशलले सर्वाधिक १ सय ६८ रन बनाउनुका साथै सर्वाधिक १३ विकेट लिएका थिए । त्यस बापत उनले दुवै विधामा समान ५० हजार पाएका थिए ।

अत्तरियाका विवेक यादव प्लेयर अफ द सिरिजमा चुनिएर १ लाख पाए । उनले १ सय ५२ रन बनाउनुका साथै १० विकेट लिएका थिए । डीसीए धनगढीका हिक् मत महरा उदीयमान खेलाडी हुँदै ५० हजार पाए । १० दिने प्रतियोगिताको विजेतालाई परराष्ट्र मन्त्री आरजु राणा देउवा, गो ड्रिमर्सका अध्यक्ष सुवास शाही लगायतले पुरस्कार प्रदान गरे । उनले फाप्लालाई स्पोर्टस कम्प्लेक्सको रूपमा अगाडि बढाउने काम निकै अगाडि बढिसकेको र अर्को साता आफ्नो ओमानको भ्रमणमा भारतीय समकक्षीसँग फाप्ला निर्माणका बारेमा पुनः कुराकानी हुने जनाइन् ।

अर्जुन शाह शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully