काठमाडौँ — नुवाकोटले ३ स्वर्ण, ३ रजत र २ कांस्य पदकसहित दोस्रो बागमती प्रदेशस्तरीय काठमाडौं महानगर उपमेयर कप खुला तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ ।
न्यु सरस्वती तेक्वान्दो डोजाङद्वारा आयोजित प्रतियोगितामा लैनचौर तेक्वान्दो डोजाङ ३ स्वर्ण, २ रजत र ४ कांस्यसाथ दोस्रो भयो । तेस्रो स्थानको ढल्को तेक्वान्दो डोजाङले ३ स्वर्ण, २ रजत र १ कांस्य जित्यो ।
ग्योरोगीको पुरुषमा धादिङका प्रदीप तामाङ र महिलामा नुवाकोटकी निर्मला तामाङ उत्कृष्ट खेलाडी चुनिए । पुम्सेको पुरुषमा स्वस्तिक तेक्वान्दो डोजाङका सुमन तामाङ र महिलामा जैसीदेवलकी वितिशा तामाङ उत्कृष्ट खेलाडी चुनिए ।
विजेतालाई काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोल, काठमाडौं महानगरपालिका वडा १७ का अध्यक्ष नवीन मानन्धर, वडा १० का अध्यक्ष रामकुमार केसी, नेपाल तेक्वान्दो संघ बागमती प्रदेशका अध्यक्ष केशव पुरीलगायतले पुरस्कृत गरे ।
दुईदिने प्रतियोगितामा ४४ टिमका ४ सय ९० खेलाडीले प्रतिस्पर्धा गरेको आयोजक समितिका रन्जितबहादुर डंगौराले जनाएका छन् ।
