घरेलु टोली धनगढीलाई पन्छाउँदै अत्तरिया फाइनलमा

माघ २७, २०८१

अर्जुन शाह

Attaria in the final beating home team Dhangadhi

धनगढी — ६ वर्षअगाडि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा सीवाईसी अत्तरियाले धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधि जितेको थियो । संयोगले त्यो डीपीएलको अन्तिम संस्करण थियो । त्यसयता अहिले नेपाली क्रिकेटको सुपर स्टार बनेका दीपेन्द्र आइतबार पहिलो पटक फाप्ला क्रिकेट मैदानमा उत्रिएका थिए ।

दीपेन्द्रको आगमनमा यसपटक पनि जित अत्तरियाकै रह्यो । तर यसपटक उनी अत्तरियाको टोलीमा थिएनन् । दीपेन्द्र समावेश घरेलु टोली डीसीए धनगढीलाई ६ विकेटले पराजित गर्दै अत्तरिया अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको हो । अत्तरियाले सोमबार हुने फाइनलमा फ्रेन्ड्स युथ क्लब डडेलधुराको सामना गर्नेछ ।

टस जितेर ब्याटिङमा आएको धनगढी पूरा ओभर खेली १ सय ८ रनमा अलआउट भएको थियो । लोकेश बम १२ बलमा ११ र अमित श्रेष्ठ ५ रन र वसन्त कार्की शून्यमा आउट भएपछि दीपेन्द्र छैटौं ओभरमा ब्याटिङका लागि क्रिजमा आएका थिए । उनी १८ बलमा १ चौका प्रहार गरी १५ रन बनाई कमल गुप्ताको बलमा शाहब आलमबाट क्याच भए ।

दीपेन्द्र आउट भएपछि ठूलो संख्यामा उनको खेल हेर्न आएका दर्शक निराश भएका थिए । दुई महिनाअगाडि सम्पन्न नेपाल प्रिमियर लिगका उत्कृष्ट दुई खेलाडीमा चुनिएका दीपेन्द्र र ललित राजवंशी समावेश धनगढीको सेमिफाइनलमा केही चलेन । यूएईमा भएको इन्टरनेसनल लिग ट्वान्टी–२० मा गल्फ जायन्टमा आबद्ध दीपेन्द्र शनिबार साँझ धनगढी आइपुगेका थिए ।

त्यसको अर्को बलमा कप्तान नारायण जोशी शून्यमा आउट भए । अभिषेक पाल २७ बल खेली ३ चौका प्रहार गरी २७ रनमा आउट भए । राहुल भण्डारीले २२ बलमा १३ र मिलन बोहराले २८ बलमा १८ रन बनाएपछि धनगढीले बल्ल १ सय रनको स्कोर पार गरेको थियो । मिलनले २ चौका र १ छक्का प्रहार गरे ।

तीन खेलाडी रनआउट भएको धनगढीको इनिङ्समा विवेक यादव र कमल गुप्ताले २–२ तथा रसिद खान, दीपेश कँडेल र शाहव आलमले १–१ विकेट लिए । विवेकले ४ ओभरमा १९ रन र कमलले ४ ओभरमा २० रनमात्र खर्चेका थिए ।

पहिलो दुई ओभरमा ललित राजवंशीले तृतराज दासलाई शून्य र भोजराज भट्टले कप्तान सन्तोष कार्कीलाई ४ रनमा आउट गरे पनि शंकर रानाको अविजित अर्धशतकमा अत्तरियाले १८ ओभरमा १ सय १४ रन बनाएको थियो । स्कोर बराबरी भएको अवस्थामा विवेकले विजयी छक्का प्रहार गरेका थिए ।

शंकर ५६ र विवेक १२ रन बनाई अविजित रहे । प्लेयर अफ द म्याच शंकरले ५५ बल खेली ३ चौका र ४ छक्का प्रहार गरे । भीम सार्की १६ बल खेली २ चौका र १ छक्का तथा दीपेश २५ बल खेली २ चौका प्रहार गर्दै २४ रन बनाए । शंकर र दीपेशले ११ ओभरभित्र ७१ रनको साझेदारी गरी अत्तरियालाई विजयी बनाए । धनगढीको हिकमत महराले ३ ओभरमा १६ रन खर्चेर २ तथा ललित राजवंशी र भोजराजले १–१ विकेट लिए ।

धनगढी क्षेत्रका प्रशिक्षक अर्जुन खड्काको स्मृतिमा गो ड्रिमर्सले आयोजना गरेको प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख नगद पाउने छन् ।

अर्जुन शाह शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully