किङडम र फेरिल्यान्डलाई बास्केटबल उपाधि

माघ २७, २०८१

कान्तिपुर संवाददाता

Basketball titles to Kingdom and Ferryland

काठमाडौँ — किङडम हिमालयन र आयोजक फेरिल्यान्ड स्कुलले प्रथम फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । किङडम जुनियर ब्वाइज र फेरिल्यान्ड जुनियर गर्ल्समा च्याम्पियन भए ।

आयोजकको कोर्टमा आइतबार जुनियर ब्वाइज फाइनलमा किङडमले न्युटनलाई ३५–२५ स्कोरले पराजित गर्‍यो । किङडमका प्रवेश लामाले १६ स्कोर जोडे । कुनै पनि विधामा किङ्डमको यो पहिलो उपाधि हो । ग्रिनल्यान्ड तेस्रो भयो ।

गर्ल्सको उपाधि भिडन्तमा फेरिल्यान्डले बौद्ध चिल्ड्रेन हेभेनलाई २७–१० ले हरायो । फेरिल्यान्डकी करुणा बोगटीले १२ स्कोर जोडिन् । ९ दिनको अन्तरालमा फेरिल्यान्डको यो दोस्रो उपाधि हो । फेरिल्यान्डले प्रथम ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा जुनियर गर्ल्सकै उपाधि जितेको थियो । न्युटन तेस्रो   भयो ।

जुनियर ब्वाइजमा किङडमका अच्युत तामाङ र जुनियर गर्ल्समा फेरिल्यान्डकी रेणुका तामाङ ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भए । जुनियर ब्वाइजमा न्युटनका आशिष राई र जुनियर गर्ल्समा बौद्ध चिल्ड्रेन हेभेनकी जस्मिन गुरुङसर्वाधिक स्कोरकर्ता बने । जुनियर ब्वाइजमा ग्रिनल्यान्डका विश्वास केसी र जुनियर गर्ल्समा न्युटनकी आईरिन राना उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । जुनियर ब्वाइजमा गुरुकुल पब्लिक र जुनियर गर्ल्समा मन्जरी ‘इमर्जिङ टिम’ ठहरिए ।

विजेतालाई बूढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारी, उपमेयर अनिता लामा, फेरिल्यान्डका संस्थापक प्रिन्सिपल विष्णुचन्द्र अधिकारीलगायतले पुरस्कृत गरे ।  

कान्तिपुर संवाददाता

Link copied successfully