काठमाडौँ — नेपाल पुलिस क्लबका संयोग कपाली र एभीएमकी इभाना थापा मगरले प्रथम पुष्पराज शाक्य स्मृति टेबलटेनिस प्रतियोगितामा स्वर्ण पदक जितेका छन् ।
खोल्चा पुखु खेलकुद समितिद्वारा आयोजित प्रतियोगिताको पुरुष सिंगल्स फाइनलमा संयोगले एभीएमका सुजन गडाललाई ७–११, ११–४, ११–८, १०–१२, ११–६ को सेटमा पराजित गरेर स्वर्ण जिते ।
ललितपुर महानगरपालिका वडा ११ को मुख्य प्रायोजन र स्पिन इभेन्ट प्रालिको व्यवस्थापनमा भएको प्रतियोगिताको महिला सिंगल्स फाइनलमा इभानाले एभीएमकै वियंका राईलाई १०–१२, ११–८, १२–१०, ११–७ को सेटमा हराइन् ।
इलेभन स्टार क्लबमा प्रतियोगिताका ६ विधामा प्रतिस्पर्धा भएको थियो । यसअघि पुरुष भेट्रान सिंगल्सको ६० वर्षमाथि पूर्णशंकर श्रेष्ठ, ५० वर्षमाथि इखाछेंका राजेन्द्र वज्राचार्य र ४० वर्षमाथि काठमाडौंका उमेश मानन्धरले स्वर्ण जितेका थिए । वडा ११ को यू–१६ मा सोयम महर्जन विजेता भए ।
पुरुष/महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय रुपैयाँ पुरस्कार हात पारे । चार स्पर्धामा पहिलो हुनेले १० हजार, दोस्रोले ५ हजार र तेस्रोले २ हजार ५ सय पुरस्कार पाए ।
विजेतालाई प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशका सदस्य–सचिव दीपक लामा, मुख्य प्रायोजक वडा ११ का अध्यक्ष अरोजकुमार खड्गीलगायतले पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा १ सय ५० खेलाडी सहभागी थिए ।
