काठमाडौँ — चिनियाँ नयाँ वर्षको अवसरमा यसै साता मैत्रीपूर्ण फुटबल हुने भएको छ । शनिबार दशरथ रंगशालामा हुने खेलमा नेपाल र चीनको युनान युवा टिमले प्रतिस्पर्धा गर्नेछ । गत वर्षदेखि चिनियाँ नयाँ वर्षको आयोजनामा मैत्रीपूर्ण फुटबल आयोजना गर्नेक्रम सुरु भएको हो ।
मैत्रीपूर्ण फुटबलको आयोजकमा काठमाडौंस्थित चिनियाँ राजदूतावास, राष्ट्रिय खेलकुद परिषद् र अखिल नेपाल फुटबल संघ (एन्फा) रहेका छन् । यस मैत्रीपूर्ण फुटबलको माध्यमबाट दुई देशबीचको सम्बन्ध अझ बलियो हुने विश्वास गरिएको छ । मैत्रीपूर्ण फुटबलअघि विभिन्न साँस्कृतिक झाँकी पनि प्रदर्शन गरिनेछ ।
एन्फाले यस मैत्रीपूर्ण खेलको तयारीका लागि ४५ सदस्यीय युवा खेलाडीसम्मिलित गरेर बन्द प्रशिक्षण चलाइरहेको छ । यसका प्रशिक्षकमा राजेश शाही छन् । मैत्रीपूर्ण फुटबलको कुल बजेट ३८ लाख ९० हजार रुपैयाँ रहेको छ । यसलाई लिएर आइतबार आयोजित पत्रकार सम्मेलनमा चिनियाँ राजदूतावासका डेपुटी चिफ अफ मिसन वाङ सिनले यसपल्ट युनानबाट बलियो टिम आइरहेको जानकारी गराए ।
