पोखरा — पाहुना टोली ब्रिगेड ब्वाइज क्लब यूकेलाई २–० ले पराजित गर्दै नेपाल पुलिस क्लब पोखरामा जारी २४ औं आहा–रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ ।
पोखरा रंगशालामा शनिबार सर्वाधिक उपाधि विजेता पुलिसले बेलायती टोलीलाई घर फर्काएको हो । खेलको २८ औं मिनेटमा प्राप्त कर्नर बल पुलिसका विवेक पाण्डेले सदुपयोग गर्दै गोल गरे ।
उनको प्रहार ब्रिगेड ब्वाइजका खेलाडी रायन कुँवरको छुँदै सेकेन्ड बारमा पुगेर गोलमा परिणत भयो । खेलको ४० औं मिनेटमा कप्तान राम वाजीले गोल गरेर अग्रता दोब्बर बनाए । विवेकको कर्नरमा अनमार्क रहेका रामले पोस्ट नजिकैबाट ‘लो हेड’ मा गोल गरेका थिए ।
यसअघि खेलको ३४ औं मिनेट विवेककै कर्नरमा रामको फ्री हेडर बीबीसीका खेलाडीले बचाए । दोस्रो प्रयासमा भने रामले विपक्षी गोलरक्षक टोपबहादुर रानालाई कुनै अवसर दिएनन् ।खेलको सुरुदेखि नै पुलिसले बीबीसीलाई दबाबमा राखेको थियो । २५ औं मिनेटमा पुलिसका उज्ज्वल राईको फ्रिकिक फितलो रह्यो । खेलको ६५ औं मिनेटमा विवेक पाण्डेको क्रसमा आशिष राईले बक्सभित्रबाट प्रहार गरेको बल पोस्टभन्दा बाहिर जाँदा पुलिसले अग्रता फराकिलो बनाउने मौका गुमायो ।
बीबीसी यूकेको तर्फबाट खेलको ७७ औं मिनेटमा शक्तिम लिम्बूको फ्रिकिकमा विशाल तामाङले बक्सबाट गरेको हेडर पुलिसका गोलरक्षक शत्रुधन चौधरीले क्लियर गरिदिए । पहिलो हाफको अग्रता अन्तिमसम्म कायम राख्दा पुलिसको जित सुनिश्चित भयो ।
यसअघि पुलिस आयोजक सहारा क्लबलाई उद्घाटन खेलमा हराएर क्वाटरफाइनल तय गरेको थियो । सहारालाई हराउने क्रममा उज्वल राईले कर्नरबाटै गोल गरेका थिए । ब्रिगेड ब्वाइजले भने सिधैं क्वाटरफाइनल खेलेको थियो । प्लेयर अफ द म्याच पुलिसका कप्तान राम वाजी भए ।
यस सिजन तीन प्रतियोगिता सभापति कप, भरत गोल्डकप र बुढासुब्बा गोल्डकपमा पहिलो चरणबाटै बाहिरिएको पुलिसका लागि पोखरेली मैदान भने भाग्यमानी ठहरिएको छ । गोल्डकपमा ६ पटक उपाधि जितेको पुलिस अब त्रिभुवन आर्मी र चर्च ब्वाइजबीचको विजेतासँग माघ ३० मा सेमिफाइनल खेल्ने छ । पुलिसले ०५८, ०५९, ०६४, ०६५, ०६६ र ०७४ मा उपाधि जितिसकेको भए पनि ०७७ पछि पहिलोपल्ट सेमिफाइनल पुगेको हो । गत संस्करणमा क्वाटरफाइनलमा चर्च ब्वाइजसँग पराजित भएको थियो । साबिक विजेता आर्मीले क्वाटरफाइनलमा सिधैं प्रवेश पाएको हो
भने चर्च ब्वाइजले एनआरटीलाई प्रि–क्वाटरफाइनलमा हराएको थियो ।दोस्रो क्वाटरफाइनल आइतबार थ्रीस्टार र मछिन्द्र क्लबबीच हुनेछ । थ्रीस्टारले सिधैं क्वाटरफाइनल प्रवेश पाएको थियो । मछिन्द्रले एपीएफ क्लबलाई पराजित गर्दै गरेको हो ।
