आहा–रारा पोखरा गोल्डकप : टाइब्रेकरमा मछिन्द्रलाई हराउँदै थ्रीस्टार सेमिफाइनलमा

माघ २७, २०८१

दीपक परियार

Aha-Rara Pokhara Gold Cup: Beating Machindra in the tiebreaker in the three-star semi-finals

पोखरा — मछिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ ले हराउँदै थ्रीस्टार क्लब पोखरामा जारी २४ औं आहा–रारा पोखरा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ ।

पाँचपल्टको उपाधि विजेता एवं साविक उपविजेता थ्रीस्टारले आइतबार क्वाटरफाइनलमा मछिन्द्रलाई हराउँदा गोलरक्षक सरिन जिसी नायक बने । निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । थ्रीस्टारका तर्फबाट दीपेश घले, फोफाना, विराज महर्जन र लक्ष्मण रुचालले गोल गरे । मछिन्द्रका विशाल घलानको प्रहार क्रसबारमा लागेर फर्किएको थियो । अर्का खेलाडी आदित्य शाक्यको पेनाल्टी थ्रीस्टारका युवा गोलरक्षक सरिन जिसीले बचाए । जिसी खेलको अन्तिममा अभिषेक बराललाई प्रतिस्थापन गर्दै मैदान प्रवेश गरेका थिए । मछिन्द्रका तर्फबाट दिवाकर चौधरी र सनिश श्रेष्ठले गोल गरे । खेलमा थ्रीस्टारका दीपेश घले प्लेयर अफ द म्याच भए । 

थ्रीस्टारले सिक्किमको थन्डबोल्ट नर्थ युनाइटेड र ब्ल्याक बुल्स फुटबल क्लब, उज्वेकिस्तानबीच हुने अन्तिम क्वाटरफाइनलको विजेतासँग फागुन १ मा सेमिफाइनल खेल्ने छ । प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेल सोमबार चर्च ब्वाइज युनाइटेड र साविक विजेता त्रिभुवन आर्मी क्लबबीच हुने छ । 

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully