१५ औं इटहरी गोल्डकप फागुन पहिलो साता

माघ २७, २०८१

कान्तिपुर संवाददाता

15th Itahari Gold Cup 1st week of February

सुनसरी — १५ औ संस्करणको इटहरी आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता फागुन ३ गतेदेखि हुने भएको छ । इटहरीको सबैभन्दा पुरानो राष्ट्रिय जागृति क्लबको आयोजनामा हुने गोल्डकप एक सातासम्म चल्ने शनिबार पत्रकार सम्मेलन गरी जानकारी गराइयो ।

इटहरी रंगशालामा हुने प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने संयोजक अनुरोध थापाले जानकारी गराए । सर्वोत्कृष्ट खेलाडीलाई १ लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । विधागत उत्कृष्ट हुनेले २० हजार र हरेक खेलका म्यान अफ द म्याचले १० हजार पाउनेछन् ।

सर्वाधिक गोलकर्तालाई २५ हजार प्रदान गरिनेछ । सहभागी टिमलाई प्रत्येक म्याचका लागि तयारी खर्चसमेत आयोजकले उपलब्ध गराउने छ । गोल्डकपमा सहभागी प्रत्येक खेलाडीलाई दैनिक १ हजार ५ सयको दरले भत्ता उपलब्ध गराइने आयोजकले जनाएको छ ।

इटहरी उपमहानगरपालिका संयोजन रहेको प्रतियोगितामा साबिक बिजेता चर्ज ब्वाइज युनाइटेड, मछिन्द्र क्लब, एनआरटी, झापा ११ फुटबल क्लब, धरान फुटबल क्लब, युनाइटेड खर्साङ एफसी भारत, दुई पटकको च्याम्पियन सगरमाथा युथ क्लब मोरङ र आयोजक राष्ट्रिय जागृति क्लब गरी ८ टिमको सहभागिता रहनेछ ।

क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनका अनुसार ८१ लाख ५० हजार खर्च हुने अनुमान गरिएको प्रतियोगिताका लागि इटहरी उपमहानगरपालिका तथा वडा कार्यालयबाट १७ लाख रुपैयाँ प्राप्त हुनेछ ।

उद्घाटन खेलमा आयोजक राष्ट्रिय जागृति क्लब र युनाइटेड खर्साङ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । फागुन ४ मा सगरमाथा युथ र एनआरटी, फागुन ५ मा मछिन्द्र र झापा ११ तथा फागुन ६ मा चर्च ब्वाइज र धरान एफसीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितालाई कन्ट्रोल लुब्रिकेन्टले मुख्य प्रायोजन गरेको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully