साइन रेसुंगाले राष्ट्रिय १० के रन गर्ने

माघ २६, २०८१

सन्जु पौडेल

Sine Resunga will run the National 10K

तिलोत्तमा — बुटवलको साइन रेसुंगा डेभलपमेन्ट बैंकले फागुन ११ गते साइन रेसुंगा राष्ट्रिय १० के रन (१० किमि दौड) आयोजना गर्ने भएको छ ।

रन टू साइन भन्ने नारासहित आफ्नो १७ औं वार्षिकोत्सवको अवसरमा बैंकले आयोजना गर्न लागेको प्रतियोगितामा खुला, स्थानीय ५० वर्षसम्म र ५० वर्षभन्दा माथि गरी तीन विधामा दौड हुने शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

राष्ट्रियस्तरका खेलाडीसहित स्थानीय खेलाडीले दौड्ने खुलातर्फका विजेता हुने महिला र पुरुष दुवैले जनही १ लाख रुपैयाँ पुरस्कार पाउने बैंकका सीईओ प्रकाश पौडेलले बताए । दुवैतर्फ दोस्रोले ४० हजार, तेस्रोले २० हजार, चौथोले १५ हजार र पाँचौं हुनेले १० हजार रुपैयाँ पाउनेछन् ।

स्थानीयको हौसला बढाउन ५० वर्ष र त्यसभन्दा माथिका लागि हुने ५ किमि दौडका विजेतो १५ हजार, दोस्रोले १० हजार, तेस्रोले ५ हजार र चौथोले २ हजार ५ सय रुपैयाँ पाउनेछन् ।

राष्ट्रिय खेलकुद परिषद् र नेपाल एथलेटिक्स संघको स्वीकृतिमा गरिने दौड आममानिसको स्वास्थ्य सचेतनाका लागि पनि महत्त्वपूर्ण रहने आयोजक बैंकको विश्वास छ ।

‘हामी ग्राहकको साथ पाएर राजधानीबाहिर मुख्य कार्यालय सञ्चालन गर्न सफल एकमात्र बैंक हौं,’ पौडेलले भने, ‘उहाँहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वस्थ जीवनशैलीका लागि यो दौड गर्न लागेका हौं ।’

१६ वर्षदेखि वित्तीय क्षेत्रबाट सेवा पुर्‍याइरहेको बैंकले वृक्षरोपण कार्यक्रममार्फत १७ हजार बढी विरुवा रोपेको र यसपालि सामाजिक उत्तरदायित्वस्वरुप खेललाई जोडेको उनले बताए ।

बैंकले प्रतियोगितामा २ हजारलाई दौडाउने लक्ष्य राखेको छ । त्यसका लागि ट्राफिक प्रहरी कार्यालय, स्थानीय पालिका र संघसंस्थासँग समन्वय गरिने सीईओ पौडेलले बताए ।

सन्जु पौडेल पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully