काठमाडौँ — आयोजक ज्ञान संस्कार स्कुल दोस्रो ज्ञान संस्कार राष्ट्रिय अन्तरविद्यालय स्केट प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । ज्ञान संस्कार ६१ अंक जोड्दै टिम च्याम्पियन बनेको हो ।
नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघ र नेपाल रोलबल संघको सहयोगमा शनिबार भएको प्रतियोगितामा २७ अंकका साथ श्री शिवा दोस्रो भयो । तेस्रो भएको अल्कापुरीले ७ अंक जोड्यो ।
आयोजक ज्ञान संस्कारकै हातामा भएको प्रतियोगिताको प्रिस्कुल गर्ल्समा त्रिशा बजगाईं, यू–६ गर्ल्समा स्वरा खनाल, ६–८ वर्ष गर्ल्समा आर्या कार्की, ८–१० वर्ष गर्ल्समा जियाना अर्याल र १२–१४ वर्ष गर्ल्समा सान्भी श्रेष्ठले ज्ञान संस्कारलाई स्वर्ण दिलाए ।
श्री शिवाका ४ खेलाडीले स्वर्ण जिते । यू–६ ब्वाइजमा शाश्वतराज बिँडारी, ६–८ वर्ष गर्ल्समा केन्जो राई, ८–१० वर्ष ब्वाइजमा रेमन गुरुङ र १०–१२ वर्ष गर्ल्समा आसिया तामाङले स्वर्ण जिते ।
प्रि स्कुल ब्वाइजमा अम्बेल किड्सका प्रियांस श्रेष्ठ, १०–१२ वर्ष ब्वाइजमा एसिया प्यासिफिकका प्रिन्स श्रेष्ठ र १२–१४ वर्ष ब्वाइजमा अल्कापुरीका अमन चौधरी पहिलो भए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य अन्जन धमला, ज्ञान संस्कार व्यवस्थापन समितिका अध्यक्ष पीताम्बर बडु, प्रधानाध्यापक निलम बानियालगायतले पुरस्कृत गरे ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले स्केटिङ खेल अहिलेका बालबालिका माझ निकै लोकप्रिय बन्दै गएको बताउँदै नेपाली खेलकुदको विकास र विस्तारमा विद्यालयहरूको पनि महत्त्वपूर्ण योगदान रहेको धारणा व्यक्त गरे । एकदिने प्रतियोगितामा २ सय खेलाडीले विभिन्न १२ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
