कोशी खेलकुद महोत्सव फागुनमा

माघ २६, २०८१

आनन्द गौतम

Koshi Sports Festival in February

ताप्लेजुङ — प्रदेश खेलकुद विकास बोर्डले फागुन १३ देखि १८ सम्म कोशी प्रदेशस्तरीय खेलकुद महोत्सव गर्ने भएको छ । पुरानो मानिने खेल बाघचालदेखि अहिले लोकप्रिय बनेको डोरीतान प्रतियोगितासम्म समेटेर ११ खेल महोत्सवमा आयोजना गरिने बोर्डका कार्यकारी अधिकृत कालीदास भट्टराईले बताए ।

महिला भलिबलबाहेकका सबै खेल प्रदेश राजधानी विराटनगरमा हुनेछ । महोत्सवमा सबै खेलका खेलाडीको उपस्थितिका लागि १४ वटै जिल्ला खेलकुद विकास समितिलाई पत्राचार गरिएको छ । महिला मात्रका लागि फुटबल र भलिबल हुनेछ भने फुरुष मात्रैका लागि सफ्ट टेनिस, डोरीतान र कबड्डी प्रतियोगिता हुनेछ ।

महिला र पुरुष दुवैका लागि एथलेटिक्स, टेबलटेनिस, बुद्धिचाल, कराते र तेक्वान्दो प्रतियोगिता राखिएको हुनेछ । बाघचाल भेट्रान्सका लागि राखिएको छ । ‘बाघचाल निकै पुरानो खेल हो, यसका खेलाडी पुरानै खोज्नुपर्ने हुन्छ,’ जिल्ला खेलकुद विकास समिति ताप्लेजुङका अध्यक्ष नरेन्द्र लिम्बूले भने, ‘भेट्रान खेलाडीको चासो राख्न थालेका छौं ।’ खेल सम्बन्धी निर्देशिका पछि आउने भएकाले अहिले चासो मात्रै राखिएको उनले बताए ।

अधिकृत भट्टराईका अनुसार महिला भलिबलबाहेक सबै खेल विराटनगरमा हुनेछ । महिला भलिबल झापा दमकको हिमाली माविमा हुनेछ । महोत्सवमा प्रदेशका १२ सय खेलाडी सहभागी रहने अनुमान बोर्डले गरेको छ । ‘यो प्रदेशको वार्षिक कार्यक्रमअनुसारको प्रतियोगिता हो,’ उनले भने, ‘७५ लाख रुपैयाँ बजेट छ तर यसले नपुग्ने भएकाले प्रायोजक खोज्नुपर्ने अवस्था पनि छ ।’

विराटनगरको सहिद रंगशाला र आसपासका मैदानमा प्रतियोगिता हुनेछ । महोत्सवले खोलाडीको प्रतिभामा निखार आउने जिल्ला खेलकुद विकास समिति ताप्लेजुङका अधिकृत यज्ञनिधि पौडेल बताउँछन् । 

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully