पूर्णशंकरलाई टेबलटेनिसको स्वर्ण

माघ २६, २०८१

कान्तिपुर संवाददाता

Purnashankar wins table tennis gold

काठमाडौँ — गोड स्पिन टेबलटेनिस क्लबका पूर्णशंकर श्रेष्ठले प्रथम पुष्पराज शाक्य स्मृति टेबलटेनिस प्रतियोगितामा स्वर्ण पदक जितेका छन् ।

खोल्चा पुखु खेलकुद समितिको आयोजनामा शंखमूलस्थित इलेभन स्टार क्लबमा भएको भेट्रान ६० वर्षमाथि पुरुष सिंगल्स फाइनलमा पूर्णशंकरले सेहोपीका राजन सुब्बालाई ११–६, १०–१२, ११–९, ५–११, १२–१० को सेटमा पराजित गरे । सीवाईसीका आनन्द धाक्वा र रोशन प्रधान संयुक्त तेस्रो भए ।

ललितपुर महानगरपालिका वडा ११ को मुख्य प्रायोजना तथा स्पिन इभेन्ट प्रालिको व्यवस्थापनमा भइरहेको प्रतियोगितामा विभिन्न ६ स्पर्धामा १ सय ५० खेलाडी सहभागी छन् ।

प्रतियोगिताको कुल पुरस्कार राशि २ लाख रहेको छ । पुरुष/महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय रुपैयाँ पुरस्कार हात पार्नेछन् । ४ स्पर्धामा पहिलो हुनेले १० हजार, दोस्रोले ५ हजार र तेस्रोले २ हजार ५ सय नगद पुरस्कार पाउने छन् ।

कान्तिपुर

Link copied successfully