दुई दिन पर सर्यो
हेटौंडा — वाग्मती गाउँपालिका खेलकुद विकास समितिले आयोजना गर्ने सातौँ संस्करणको वाग्मती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी फागुन ३ गतेदेखि सुरु हुने भएको छ । यसअघि खेलकुद विकास समितिले फागुन १ गतेदेखि खेल सञ्चालन गर्ने पत्रकार सम्मेलनमार्फत जानकारी दिएको थियो ।
अखिल नेपाल फुटबल संघको माघ ७ गतेको पत्रानुसार वाग्मती गोल्डकप फागुन ३ गतेदेखि सुरु गर्न लागेको वाग्मती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष रहरसिंह थिङले जानकारी दिए ।
'प्रतियोगिता फागुन ३ गतेदेखि सुरु भएर फागुन १३ गते सम्पन्न हुने छ,' उनले भने । तयारी नपुगेकाले खेलकुद विकास समितिको अनुरोधमा अखिल नेपाल फुटबल संघले फुटबल प्रतियोगिताको मिति संशोधन गरिदिएको हो । प्रतियोगिता वाग्मती गाउँपालिका-४ झुरझुरेस्थित पालिकाको लगानीमा निर्मित सहिद स्मृति रंगशालामा हुनेछ ।
यसअघिका संस्करण जनता मावि फापरबारीको खेल मैदानमा हुँदै आएको थियो । प्रतियोगितामा प्रथम टिमले १० लाख र दोस्रो हुने टिमले ५ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने वाग्मती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष थिङले जानकारी दिए ।
प्रतियोगितामा ए डिभिजनका ७, मोफसलका ३ सहित १० टिमको सहभागिता रहने बताइएको छ । प्रतियोगिता सञ्चालनको लागि ७४ लाख ७३ हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दि म्याचलाई दश हजार रुपैयाँसहित शिल्ड प्रदान गरिने खेलकुद विकास समिति सदस्य सचिव प्रमोद राईले जानकारी दिए । यसअघिको छैटौँ संस्करणको उपाधि मछिन्द्र क्लब काठमाडौँले जितेको थियो ।
