काठमाडौँ — गुरुकुलम स्कुलको आयोजनामा भएको पहिलो फुटसल प्रतियोगितामा युनिक स्कुल विजेता बनेको छ । फाइनलमा युनिकले मोडर्न इन्डियन स्कुललाई ४–० ले हराएको थियो । उपत्यकाका १६ विद्यालयका करिब २ सय प्रतिभाशाली युवा खेलाडीले प्रतियोगितामा भाग लिएका थिए ।
पहिलो सेमिफाइनलमा युनिकले एक्टिभ स्कुललाई २–० ले हरायो भने दोस्रो सेमिफाइनलमा मोडर्न इन्डियन स्कूलले नेबरहुड स्कुलमाथि ३–१ को जित पाएको थियो । सर्वोत्कृष्ट खेलाडीको पुरस्कार युनिक स्कूलका तन्छो लिम्बुले जिते।
सर्वोत्कृष्ट गोलकिपरको पुरस्कार एमआईएसका आर्यन दाहालले जिते । उच्च स्कोरर नेबरहुडका सुजन चौधरी भए । फेयर प्ले टिमको पुरस्कार केएमसी स्कुलले जित्यो ।
विद्यालयबीच सौहार्दता र स्वस्थ प्रतिस्पर्धात्मक भावना जगाएर विद्यार्थीलाई आफ्नो फुटसल सीप प्रदर्शन गर्न प्लेटफर्म प्रदान प्रतियोगिता गरिएको गुरुकुलमका प्रधानाध्यापक दीपेन्द्रराज दाहालले बताए । विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य बिना श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए ।
