नेपालगन्ज — बाँके जिल्ला फुटबल संघको आयोजनामा शनिबारदेखि नेपालगन्जमा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ ।
नेपालगन्ज रंगशालामा हुने अन्तर विद्यालयस्तरीय प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन नेपालगन्ज सेन्ट जेभियर्स स्कुल र होप इन्टरनेसनल स्कुलले प्रतिस्पर्धा गर्ने छन् ।
मेयर कप फुटबल प्रतियोगिता–२०८१ मा छात्रतर्फ २१ विद्यालयको सहभागिता रहेको छ । नेपालगन्ज रंगशालामा बिहीबार सार्वजनिक गरिएको खेल तालिकाको समूह ‘ए’ मा नेपालगन्ज सेन्ट जेभियर्स स्कुल, होप इन्टरनेशनल, पशुपति मावि राँझा, ब्राइटल्याण्ड मावि, ड्रिमल्याण्ड, मनकामना, सगरमाथा, राम मावि, मोर्डन पब्लिक र जीवनज्योती स्कुल रहेका छन् ।
यसैगरी समूह ‘बी’ मा आदर्श मावि राँझा, जय बागेश्वरी स्कुल, मुनतारा, ग्रीनपीस, आदर्श मावि नेपालगन्ज, सेन्टथोमस, सिद्धार्थ विद्या सदन, धम्बोझी मावि, मंगलप्रसाद मावि, युनाईटेड र नेपालगन्ज मोडेल एकेडेमी रहेका छन् । प्रतियोगिताको फाइनल खेल फागुन ३ गते हुनेछ ।
यसैगरी मेयर कप छात्रा फुटबलतर्फको खेल तालिका केही दिनमा सार्वजनिक गरिने आयोजक बाँके जिल्ला फुटबल संघले जनाएको छ । छात्रातर्फको प्रतिस्पर्धामा सहभागी हुने टिमको संख्या कम भएका कारण केही दिनपछि खेल तालिका सार्वजनिक गरिने संघले जनाएको छ ।
हरेक वर्ष बाँके जिल्ला फुटबल संघले आयोजना गर्दै आएको मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरेर बाँके जिल्लाको टिम तयारी पारिने बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य भोजराज शाहीले बताए ।
छात्रातर्फको फुटबल प्रतियोगितालाई नेपालगन्जमा हुन लागेको लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा स्थानीय टिमको लागि खेलाडी छनोटको रुपमा पनि लिइएको आयोजकले बताएको छ । प्रतियोगिताका दौरान उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई छनोट चरणमा सहभागी गराउने तयारी रहेको संघले बताएको छ ।
विद्यालय स्तरका खेलाडीलाई प्राथमिकतामा राखेका कारण १८ वर्षसम्मका खेलाडीले मात्र खेल्न पाउने आयोजकले नियम बनाएको छ । गतवर्ष मेयर कप फुटबल प्रतियोगिताको छात्रतर्फ नेपालगन्ज सेन्ट जेभियर्स र छात्रातर्फ नेपालगन्ज मोडेल एकेडेमीको टिम च्याम्पियन बनेको थियो ।
