थाईमाथि डचको दुर्लभ जित

माघ २५, २०८१

कान्तिपुर संवाददाता

A rare victory for the Dutch over the Thais

काठमाडौँ — नेदरल्यान्ड्सले त्रिकोणात्मक महिला ट्वान्टी–२० क्रिकेट शृंखलामा बिहीबार थाइल्यान्डमाथि रोमाञ्चक खेलमा १ विकेटले जित पाएको छ । यो नतिजापछि उपाधिको निर्णय अन्तिम दिनको खेलमा लम्बिएको थियो । 

कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार नेदरल्यान्ड्सले १ सय १० रनको लक्ष्य अन्तिम बलमा पूरा गरेको थियो । टोलीले अन्तिम ओभरमा ८ रन बनाएर स्मरणीय जित निकालेको थियो । सिल्भर सिगर्सले अन्तिम बलमा २ रन बनाएर विजयी रन बटुलेकी थिइन् । महिला ट्वान्टी–२० अन्तर्राष्ट्रिय विश्व वरीयतामा आफूभन्दा चार स्थानमाथि (१६ औं स्थान) रहेको थाइल्यान्डमाथि नेदरल्यान्ड्सको यो केवल तेस्रो जित हो । 

यसअघि टस जितेर ब्याटिङ रोजेको थाइल्यान्डले निर्धारित २० ओभर खेल्दै ५ विकेट गुमाई १ सय ९ रन बनाएको थियो । थाइल्यान्ड र नेदरल्यान्ड्स दुवैले समान ५ जित हात पारेका छन् । नेदरल्यान्ड्सले सबै ६ खेल खेलिसकेको छ भने थाइल्यान्डले शुक्रबार अन्तिम दिनको खेलमा नेपालसँग खेल्दै छ । 

अहिले नेदरल्यान्ड्सभन्दा थाइल्यान्ड राम्रो रेटरेटमा छ । नेपाललाई पराजित गरेमा थाइल्यान्ड विजेता बन्ने छ । तर नेपालले विजय हात पारेमा नेदरल्यान्ड्स र थाइल्यान्डबीचको खेल नेट रनरेटका आधारमा निर्णय हुनेछ ।

सहभागी टोलीले एकअर्कासँग ३–३ पटक खेलेपछि सर्वाधिक अंक बटुल्ने टोली विजेता बन्ने छ । शृंखलामा नेदरल्यान्ड्सले थाइल्यान्डलाई पहिलो पटक पराजित गरेको हो । नेदरल्यान्ड्सले यसअघिका ५ खेलमा ३ जित र २ हार बेहोरेको थियो । टोलीको तीनै जित नेपालसँग र दुवै हार थाइल्यान्डसँग थियो ।

फेब मोलकेनबोइरले ४२ बलमा २ चौका मदतमा ३२, रोबिन रिज्केले २१ बलमा १ चौकापिहत २० र स्टेर कालिसले १४ रन बनाई नेदरल्यान्ड्सलाई विजयी बनाए । थाइल्यान्डबाट थिपत्चा पुथावोङले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए पनि टोलीलाई विजयी बनाउन सकिनन् । ओनिचा कामचोम्फुले ४ ओभरमा १९ रन खर्चेर ३ र फनिता मायाले २ विकेट लिए ।

यसअघि पहिलो ब्याटिङ गर्नेक्रममा अफिसरा सुवानचोनराथी शून्य, नानापात कोन्चारोइन्काई ३ र नताया बुचाथन ६ रनमा आउट भएपछि थाइल्यान्डले पाँचौं ओभरमा १० रन बनाउँदा ३ विकेट गुमाइसकेको थियो । त्यसपछि कप्तान नारुइमोल चाइवाईले १५ रन बनाइन् ।

नाथाकन चानथमले चानिदा सुथिरुएङसँग पाँचौं विकेटमा ६६ रनको महत्त्वपूर्ण साझेदारी गरिन् । सुथिरुएङले २८ बल खेल्दै ४ चौकासहित ३२ रन बनाइन् । चानथम ४६ बल खेलि ४ चौका र १ छक्कासहित ३६ र सुवानान खिएटोले ४ बलमा १ छक्कासहित अविजित १० रन बनाए । नेदरल्यान्ड्सकी आइरिस विलिङले ४ ओभरमा ९ रनमात्र खर्चेर ३ र हिथर सिगर्सले ४ ओभरमा १ मेडन राख्दै १८ रन खर्चेर २ विकेट लिए ।

कान्तिपुर संवाददाता

Link copied successfully