काठमाडौँ — यस वर्षको काठमाडौं पिंक केयरएथन फागुन १० गते हुने भएको छ । महिलाको स्वास्थ्य एवं फिटनेसमा सचेतना जगाउने उद्देश्यका साथ लेजर पोर्टले सन् २०१७ देखि पिंकाथनको नामबाट गर्दै आएको पिंक केयरएथन यसपालि जावलाखेल फुटबल मैदानमा हुनेछ ।
महिलाका लागि ३ किलोमिटर, ५ किलामिटर र २१ किलोमिटर रेस आयोजना गर्न लागिएको र रेस कोर्स अझैं टुंगो लगाउन बाँकी रहेको लेजर पोर्टका प्रमुख नमराज जोशीले बताए । २१ किमिमा पहिलोदेखि तेस्रो हुनेले क्रमशः ५१ हजार, ३१ हजार र २१ हजार पुरस्कार पाउनेछन् ।
त्यस्तै ३ र ५ किमिको पहिलो तीन स्थानमा रहनेले पिंक केयरएथनको हस्पिटालिटी पार्टनर दुसित प्रिन्सेसमा १ रात बसाइको सुविधा पाउने जोशीले जनाए । काठमाडौं पिंक केयरएथनमा महिलाको दौड, जुम्बालगायतका कार्यक्रम हुनेछ ।
जुनसुकै उमेर समूहका महिलाले सहभागिता जनाउन सक्ने यो इभेन्टको मुख्य उद्देश्य सधैं घरायसी कामकाज र दैनिकीमा व्यस्त रहने महिलालाई आफ्नो स्वास्थ्यप्रति समय निकाल्न प्रेरित गर्नु रहेको जोशीले बताए ।
करिब २५ सयदेखि ३ हजारको हाराहारीमा महिला दौडमा सहभागी हुने आयोजकको अपेक्षा छ । कलाकार उषा रजकलाई काठमाडौं पिंक केयरएथनको गुडविल एम्बासडर घोषणा गरिएको छ भने दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेकी धाविका सन्तोषी श्रेष्ठ यसको ब्रान्ड एम्बासडर हुन् ।
बलियो समाज निर्माणका लागि सबैभन्दा पहिलो महिला सशक्त हुनुपर्ने र यस्ता इभेन्टले महिलाहरूलाई बलियो बनाउने विज्ञहरूले औंल्याएका छन् ।
नेपाल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर विजेशराज घिमिरे, आईवार्टकी अध्यक्ष इच्छा गुरुङ, राष्ट्रिय खेलकुद परिषद्की सदस्य सुवर्ण श्रेष्ठसहित महिलाकर्मीहरू मन्दिरा राउत, शोभा गुरुङले पिंक केयरएथनको महत्वबारेमा प्रकाश पारेका थिए ।
सन् २०१७ मा पहिलो वर्ष आयोजना भएको पिंकाथन २०१९ सम्म तीन संस्करण आयोजना भएको थियो । कोभिड–१९ पछि गत वर्ष देखि यसले पुनः निरन्तरता पाएको थियो ।
