हेटौंडा — हेटौंडामा अनुप घलान स्मृति यू-१६ नगरस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा नगर खेलकुद विकास समितिको आयोजनामा आगामी फागुन ७ गतेदेखि नगरस्तरीय फुटबल प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।
हेटौंडा उपमहानगरपालिका-१२ का अनुपम घलानको गत असोजमा मकवानपुरको सिस्नेरीमा पहिरोमा परेर मृत्यु भएको थियो । एन्फा एकेडेमीका किशोर खेलाडी घलानको निधनपछि उनको स्मृतिमा प्रतियोगिता आयोजना गर्न लागिएको नगर खेलकुद विकास समिति हेटौडाका अध्यक्ष रवीन्द्रप्रसाद घिमिरेले बताए । प्रतियोगिता हेटौंडा-५ स्थित पिप्ले–क्याम्पा रंगशालामा हुनेछ ।
प्रतियोगिताका लागि हेटौंडा उपमहानगरपालिकाले ७ लाख रुपैयाँ बजेट विनियोजन गरेको अध्यक्ष घिमिरेले पत्रकार सम्मेलनमा बताए । 'प्रतियोगितालाई आगामी वर्षमा पनि निरन्तरता दिने छौँ,' उनले भने ।
प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले ७० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा विधागत उत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैयाँ पुरस्कार तथा ट्रफी प्राप्त गर्नेछन ।
