बैतडी जित्दा अत्तरिया अन्तिम चारमा

माघ २५, २०८१

अर्जुन शाह

By winning Baitadi, Attaria is in the last four

धनगढी — दशरथ चन्द एकेडेमी बैतीडीले बिहीबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) काठमाडौंलाई १६ रनले पराजित गरेपछि सीवाईसी अत्तरिया अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुगेको छ ।

पहिलो दुई खेल जितेको अत्तरियाले शुक्रबार न्यु होराइज बुटवलसँग समूह चरणको अन्तिम खेल्दै छ । बुटवलले यो खेल जितेमा समूह ‘बी’ बाट उपविजेता बन्दै सेमिफाइनल पुग्नेछ । समूह ‘ए’ बाट फ्रेन्ड्स क्लब डडेलधुरा र डीसीए धनगढी सेमिफाइनल पुगिसकेका छन् । 

बैतडीले सीईसीलाई पराजित गर्दै अन्तिम चारमा पुग्ने झिनो सम्भावना जीवितै राखेको थियो । टस जितेको बैतडीले २० ओभरमा ८ विकेट गुमाई १ सय ६० रन बनायो । दिवान पुनले ४३ रन बनाए । प्लेयर अफ द म्याच उनले ३३ बलमा ५ चौका र १ छक्का प्रहार गरे । 

बसन्त खत्रीले ३२ र अमर राउटेलाले ५ चौका र १ छक्कासहित २९ रन जोडे । काठमाडौंका दीपेन्द्र रावत र सूर्य तामाङले २–२ तथा नन्दन यादव, राज शाह र युनिस ठकुरीले १–१ विकेट लिए । 

जवाफमा सीईसी १९.४ ओभरमा १ सय ४४ रनमा समेटियो । राज शाहले ३७, दीपेन्द्र रावतले ३२, शुभ कंसाकारले २६ र कप्तान नन्दन यादवले २० रन जोडे । बैतडीका सालुउद्दिन खानले १४ रन खर्चेर ५ र दिवानले ३ विकेट लिए । 

घोडाघोडी–११ सुख्खडले सान्त्वना जित पायो । दिनको दोस्रो खेलमा सुख्खडले डडेलधुरालाई १ विकेटले हरायो । टस जितेको डडेलधुराले ८ विकेट गुमाई १ सय २४ रन बनायो । विनोद भण्डारीले ४७ बल खेल्दै २ चौका र ४ छक्कासहित अविजित ५६ रन जोडे । 

कुशल भुर्तेल १३, आयुषमान बम ११ र गजेन्द्र बोहरा १० रनमा आउट भए । सुख्खडका नरेन साउदले ४ विकेट लिए । उनी प्लेयर अफ द म्याच भए । सूर्य श्रेष्ठले २, सञ्जय बोहरा र भूपेश जोशीले १–१ विकेट लिए । 

सुख्खडले १ बलअघि लक्ष्य पूरा गर्‍यो । आयुब चन्दले ३३, योगेश भाटले २० तथा टेक रावत र कप्तान शेर मल्लले समान १८ रन जोडे । डडेलधुराका हेमन्त धामीले ३, अभिषेक गौतमले २ तथा कैलाश ऐर, कुशल र गजेन्द्र बोहराले १–१ विकेट लिए ।

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully