आहा–रारा पोखरा गोल्डकप : एनआरटीविरुद्ध चर्च ब्वाइज हाबी 

चर्च ब्वाइजका गोलरक्षक टिकेन्द्रले बचाए एनआरटीका तीन पेनाल्टी

माघ २५, २०८१

दीपक परियार

Aha-Rara Pokhara Gold Cup: Church Boys Habi against NRT

पोखरा — एनआरटीलाई सडन डेथमा हराउँदै चर्च ब्वाइज युनाइटेड पोखरामा जारी २४ औं आहा–रारा पोखरा गोल्डकप फुटबलको क्वाटरफाइनल पुगेको छ । पोखरा रंगशालामा बिहीबार निर्धारित र अतिरिक्त समय १–१ को बराबरीमा टुंगिएपछि खेल पेनाल्टी शुटआउट हुँदै सडनडेथसम्म पुगेको हो । 

पेनाल्टी शुटआउटमा चर्च ब्वाइजका गोलरक्षक टिकेन्द्रसिंह थापा नायक बने । उनले तीन पेनाल्टी रोक्दा चर्च ब्वाइजले क्वाटरफाइनलमा स्थान सुरक्षित गर्‍यो । निर्धारित ९० मिनेट १–१ को बराबरीमा टुंगिएपछि अतिरिक्त समयमा धकेलियो । अतिरिक्त ३० मिनेटको समयमा दुवैतर्फबाट गोल हुन सकेन । पेनाल्टी शुटआउट ४–४ को बराबरीमा टुंगिएपछि सडन डेथको सहारा लिनुपर्‍यो । 

पेनाल्टी शुटआउटमा चर्च ब्वाइजका नवीन लामा, मिलन राई, अकिन्स बाफोउर र अबायोमी फाकुन्लेले गोल गरे । सकल रेग्मीको प्रहार पनि क्रसबार माथिबाट बाहिरियो । एनआरटीका कप्तान अञ्जन विष्ट, जय गुरुङ, सुमित श्रेष्ठ र गोलकिपर विशाल सुनारले गोल गरे । 

एन्जल महर्जनको प्रहार बाहिरियो । सडन डेथमा चर्च ब्वाइजका प्रशान्त लक्षमले गोल गरे । त्यसपछि एनआरटीका राजीव लोप्चनले गोल फर्काएर बराबरी गरे । चर्च ब्वाइजका सर्ज ढिकाको पेनाल्टी एनआरटीका गोलरक्षक विशाल सुनारले बचाए । एनआरटीका जन्मजय धामीको बल चर्च ब्वाइजका टिकेन्द्रसिंहले बचाए । 

त्यसपछि चर्च ब्वाइजका राज भुसालको पेनाल्टी विशालले रोके । एनआरटीका रिचर्ड विल्सनको प्रहार पनि टिकेन्द्रले बचाएपछि खेल पुनः ५–५ कै बराबरी रह्यो । त्यसपछि टिकेन्द्र आफै पेनाल्टी हान्न तम्सिए । गोल पनि गरे । एनआरटीका माइकल मगरको पेनाल्टी उनै टिकेन्द्रले रोकेर टोलीलाई विजयी गराए । उनी प्लेयर अफ द म्याच भए । 

त्यसअघि २५ औं मिनेटमा रिचर्ड विल्सनले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए । कृतिशरत्न छुन्जुले चर्च ब्वाइजका मिडफिल्डरलाई छक्याउँदै पेनाल्टी एरियाबाट प्रहार गरेको बल चर्च ब्वाइजका गोलरक्षक टिकेन्द्रसिंह थापाको हातबाट फुस्कियो । रिबाउन्डमा बक्सभित्रबाटै रिचर्डले ट्याप इन गर्दै गोलमा परिणत गरे ।

तर, खेलको ६४ औं मिनेटमा चर्च ब्वाइजले बराबरी गोल फर्कायो । प्राप्त पेनाल्टीमा नवीन लामाले कुनै गल्ती नगरी सहजै गोल गरे । एनआरटीका नरेन चौधरीले पेनाल्टी एरियामा मनीष जर्घा मगरलाई लडाएपछि रेफ्रीले पेनाल्टीको अवसर दिएका थिए । ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइजले क्वाटरफाइनलमा माघ २८ गते त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । शुक्रबार भारतको थन्डरबोल्ट नर्थ युनाइटेड र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

दीपक परियार परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully