पोखरा — दुईपल्टको च्याम्पियन संकटा क्लबलाई ३–१ ले हराउँदै सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड पोखरामा जारी २४ औं आहा–रारा गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा शुक्रबार अन्तिम प्रि–क्वाटरफाइनल खेलमा पहिलोपल्ट नेपाल यात्रामा रहेको भारतीय टोलीले पहिलो खेलबाटै संकटालाई घर फर्काएको हो ।
संकटाका लागि फ्र्यांकलिन क्वेटे टाला, करण राई र आदर्श तामाङले गोल गरे । संकटाका मनिष पौडेलले सान्त्वना गोल गरे ।
खेलमा सुरुआती अग्रता भने संकटाले लिएको थियो । खेलको १७ औं मिनेटमा संकटाका लागि पौडेलले अग्रता दिलाएका थिए । उनले पासाङ लामाको पास सदुपयोग गर्दै उत्कृष्ट फिनिसिङ दिए । खेलको ३५ औं मिनेटमा थन्डरबोल्टले पेनाल्टी पाएपछि खेल बराबरीमा पुग्यो । थन्डरबोल्टका टालाले पेनाल्टीमा सहजै गोल गर्दै संकटाका गोलरक्षक दीप कार्कीलाई कुनै अवसर दिएनन् । पहिलो हाफ १–१ को बराबरीमा टुंगिए पनि दोस्रो हाफमा थन्डरबोल्टले २ गोल थप्दै क्वाटरफाइनलमा अर्को विदेशी टिम उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबसँग क्वाटरफाइनल भेट पक्का गर्यो ।
खेलको ७७ औं मिनेटमा करन राईले गोल गर्दै थन्डरबोल्टलाई अग्रता दिलाए । उनले आन्द्रेको पासमा बक्सबाट गोल गरेका हुन् । ८९ औं मिनेटमा थन्डरबोल्टका आदर्श तामाङले उत्कृष्ट गोल गरे । मैदानको मध्यभागबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । गोलरक्षक दीप कार्की अगाडि बढेको अवस्थामा आदर्शले मध्यभागबाट खाली पोस्टमा प्रहार गरेका थिए । खेलमा थन्डरबोल्टका टाला प्लेयर अफ द म्याच घोषित भए । थन्डरबोल्टले माघ २९ मा ब्ल्याक बुल्ससँग क्वाटरफाइनल खेल्ने छ ।
शनिबार प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेल नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लब, यूकेबीच हुने छ । पुलिसले आयोजक सहारालाई हराएर क्वाटरफाइनल प्रवेश गरेको थियो भने ब्रिगेड ब्वाइज क्लब सोझै क्वाटरफाइनलमा छानिएको हो ।
