१३ स्वर्णसहित त्रिभुवन विश्वविद्यालय टिम च्याम्पियन

माघ २४, २०८१

कान्तिपुर संवाददाता

Tribhuvan University team champion with 13 golds

काठमाडौँ — पोखरामा सम्पन्न दोस्रो विश्वविद्यालय खेलकुद प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय टिम च्याम्पियन भएको छ ।

त्रिविले १३ स्वर्ण पदकसहित टिम च्याम्पियनको ट्रफी उचाल्यो । थप ९ रजत र ४ कांस्य जितेको त्रिवि दोस्रो पटक च्याम्पियन बनेको हो ।

३ स्वर्ण, २ रजत र ३ कांस्यसहित सुदूरपश्चिम विश्वविद्यालय दोस्रो भयो भने २ स्वर्ण र ३ रजतसहित मध्यपश्चिमान्चल विश्वविद्यालय तेस्रो भएको हो ।सहआयोजक गण्डकी विश्वविद्यालयले १ स्वर्णसहित २ रजत र ५ कांस्य जित्यो । काठमाडौं विश्वविद्यालयले २ रजत र ७ कांस्य हात पार्दा पोखराले १ रजत र ३ कांस्य पदक प्राप्त गरेको छ । पूर्वाञ्चलले २ कांस्य, कृषि तथा वनविज्ञानले २ कांस्य र लुम्बिनी विश्वविद्यालयले १ कांस्य पदक जितेका थिए ।

विजेता खेलाडी र टिमलाई गण्डकी प्रदेश सभाका सांसद प्रकाश बराल, गण्डकी विश्वविद्यालयका रजिस्ट्रार कैलाश तिमल्सिना, राष्टिय खेलकुद परिषदका बोर्ड सदस्य अन्जना श्रेष्ठ, कार्यक्रम संयोजक तथा परिषद् बोर्ड सदस्य डा मधुसुदन सुवेदी, कार्यक्रमका सचिव तथा विभागीय प्रमुख मिनकुमार शर्मा लगायतले रनिङ शिल्ड, टफी मेडल तथा नगद पुरस्कार प्रदान गर्नु भयो ।

पुरुष भलिबल, महिला र पुरुप एथलेटिक्स, ब्याडमिन्टन र टेबलटेनिसमा गरी १९ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।

भलिबलमा मध्यपश्चिम च्याम्पियन

पुरुष भलिबलमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय विजेता बन्यो । मध्यपश्चिमले त्रिभुवन विश्वविद्यालयलाई पराजित २१–२५, २५–१३, २५–१८, २५–२३ को सेटमा पराजित गरेको थियो । सुदूरपश्चिम विश्वविद्यालय भने कृषि तथा वनविज्ञान विश्वविद्यालयलाई २१–२५, २५–४, २५–१७, २५–१६ ले पराजित गरी तेस्रो भयो ।

त्यस्तै टेबलटेनिसमा त्रिभुवन विश्वविद्यालयले ३ स्वर्ण जित्यो । टोलीले २ रजत र एक कास्य पनि जित्यो । गण्डकी विश्वविद्यालयले १ स्वर्ण, १ रजत र २ कांस्य, काठमाडौंविश्वविद्यालयले १ रजत र ३ कांस्य जितेको छ भने पोखरा र पूर्वाञ्चल विश्वविद्यालयले एक–एक कांस्य जितेका छन् ।

ब्याडमिन्टनमा त्रिभुवन विश्वविद्यालय नै अगाडि रह्यो । टोलीले ४ स्वर्ण र एक रजत जित्यो । पोखरा, लुम्बिनी र गण्डकीले १–१ रजत तथा काठमाडौंले ३ कांस्य जितेको थियो ।

तेस्रो संस्करण चितवनमा

तेस्रो विश्वविद्यालय खेलकुद अर्को वर्ष चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयले आयोजना गर्ने गरी झण्डा हस्तान्तरण गरिएको छ । कृषि तथा वनविज्ञान विश्वविद्यालयका विद्यार्थी कल्याण निर्देशनालयका निर्देशक कृष्णप्रसाद थपलियाले प्रतियोगिता आयोजनाको झण्डा ग्रहण गर्दै अर्को वर्ष चितवनमा सबै विश्वविद्यालयलाई निम्ता दिएका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully