काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद्ले नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा भाग लिएका संघहरूलाई फरक ढंगले ‘डण्डा’ चलाउने भएको छ ।
त्यस सम्बन्धमा यही माघ २२ गते बसेको बोर्ड बैठकबाट निर्णय गरिएको राखेपले बिहीबार पत्रकार सम्मेलनमार्फत जनाएको छ ।
परिषदले नेपाल ओलम्पिक कमिटी (एनओसी)को निर्वाचनमा सहभागी भएका राष्ट्रिय खेल संघलाई तीन दिनभित्र चितबुझ्दो कारणसहित स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ ।
संघहरूले राखेपको निर्देशनलाई बेवास्था गर्दै पुस १३ गते अनलाइनमार्फत सम्पन्न एनओसी निर्वाचनमा भाग लिएको थियो ।
आवधिक निर्वाचन गरेका र्याफ्टिङ एन्ड क्यानोइड, बास्केटबल, आर्चरी, भलिबल, स्की, जुडो, गल्फ र बक्सिङ संघले परिषद्को सर्त पालना नगरी स्पष्टीकरणको अवज्ञा गरेको जनाएको छ । अब तीन दिनको समयसीमासहित मौका दिने र जवाफ चित्तबुझ्दो नभएमा सम्बन्धित खेल संघको बैंक खाता रोक्का, पदाधिकारीलाई वैदेशिक सहभागितामा रोक र सरकारी भौतिक पूर्वाधार प्रयोगमा रोक्कालगायत कारवाही प्रक्रिया बढाइने राखेपले जनाएको छ ।
भारोत्तोलन, साइक्लिङ, ब्याडमिन्टन, जिम्न्यास्टिक र टेनिस संघले आफ्नो आवधिक निर्वाचन नगरेको जनाउँदै स्पष्टीकरणसहित कारबाही प्रक्रिया अगाडि बढाइने सदस्यसचिव टंकलाल घिसिङले बताए । अदालतको अन्तरिम आदेश कार्यान्वयनका लागि परिषद्को निर्देशन विपरीत राष्ट्रिय खेल संघको नाममा कानुन बमोजिम पद र जिम्मेवारीमा नरहेको अवस्थामा झुटा विवरण पेस गरी एनओसीमा प्रतिनिधित्व गरेकाले ती पदाधिकारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ र १६ बमोजिम कारबाहीका लागि सिफारिस किन नगर्ने भनी स्पष्टीकरण सोधिएको छ । त्यसमा टेबलटेनिसका चतुरानन्द राजवैद्य, उसुका लाक्पा छिरिङ लामा, पौडीका अशोकरत्न बज्राचार्य, कुस्तीका समिम मियाँ अन्सारी र ह्न्यान्डबलका तेजबहादुर चन्द्र रहेका छन् ।
