काठमाडौँ — सीजीजी स्पोर्ट्स हबको अयाजोनामा दोस्रो चंग्या गुरुङ अन्तर्राष्ट्रिय बक्सिङ र मुया थाई च्याम्पियनसिप हुने भएको छ । फागुन ९ र १० गते हुने प्रतियोगीता स्वयम्भूमा सञ्चालन हुने छ ।
बक्सिङ प्रतियोगितामा भारत र भुटानका खेलाडीसँगै नेपालका बक्सरको सहभागीता रहने जानकारी आयोजक समितिका संयोजक दोर्जे घलेले बिहीबार भएको पत्रकार सम्मेलनमा जानकारी दिए । बक्सिङमा जम्मा ४४ खेलाडी विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्ने बक्सिङ प्रतियोगिताका प्राविधिक निर्देशक दीपक महर्जनले बताए ।
पुरुष एलिट बक्सिङमा ५४ केजी, ५७ केजी र ६० केजी वजन समूहमा प्रतिस्पर्धा हुनेछ भने एलीट महिलामा ५७ केजीमा मात्र प्रतिस्पर्धा हुनेछ। पुरुष युथ बक्सिङमा ६० केजीमा प्रतिस्पर्धा हुनेछ भने महिला युथ बक्सिङमा ५७ केजी र ६० केजीमा प्रतिस्पर्धा हुनेछ।
जुनियर पुरुस बक्सिङमा ५४ केजी र ६३ केजीमा प्रतिस्पर्धा गर्नेछन्। मुया थाईमा २१ टोलीका कुल ७६ खेलाडीहरू सहभागी हुने संयोजक संजय राईले बताए। पुरुष प्रो खेलाडीहरू ४५ केजी, ५१ केजी, ५५ केजीर ६५ केजीमा प्रतिस्पर्धा गर्नेछन्। महिला प्रो खेलाडीहरू केवल ५१केजीमा प्रतिस्पर्धा गर्नेछन्।
पुरुष सेमी-प्रोमा ५० केजी, ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजीर ७५ केजीमा प्रतिस्पर्धा हुनेछ भने महिला खेलाडीहरू ५० केजी, ५५ केजी र ६० केजी वजन समूहमा प्रतिस्पर्धा गर्नेछन्। पुरुष एमेच्योर बक्सिङमा ५० केजी, ५५ केजी र ६० केजीमा खेलाडीहरू प्रतिस्पर्धा गर्नेछन् भने महिला खेलाडीहरू ५० केजी र ५५ केजीमा प्रतिस्पर्धा गर्नेछन्।
प्रो इभेन्टको विजेतालाई नगद पुरस्कारले सम्मानित गरिने आयोजकले जानकारी दिएको छ।
