महिला क्रिकेटमा सन् २०११ यता थाइल्यान्डलाई पहिलो पटक पराजित गर्ने नेपालको आस फेरि सफल हुन सकेन
काठमाडौँ — नेपालले थाइल्यान्डविरुद्धको खेल जित्ने राम्रो मौका गुमाएको छ । थाइल्यान्डलाई मंगलबार त्रिकोणात्मक महिला ट्वान्टी–२० शृंखलामा सानै स्कोरमा रोके पनि नेपालले ५ रनको हार बेहोरेको थियो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा थाइल्यान्डले टस जितेर ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाई १ सय ६ रन बनायो । जबाफमा नेपालले ८ विकेट गुमाई १ सय १ रनमात्र बनाउन सक्यो । सन् २०११ यता थाइल्यान्डलाई पहिलो पटक पराजित गर्ने नेपालको आस फेरि सफल हुन सकेन ।
प्रतियोगितामा नेपालको लगातार चौथो हार हो । त्यसको ठीक विपरीत थाइल्यान्डले सबै चार खेल जितेको छ । थाइल्यान्डले उपाधि जित्ने लगभग निश्चित भएको छ । सहभागी टोलीले एक आपसमा ३–३ पटक खेलेपछि सर्वाधिक अंक बटुल्ने टोली विजेता बन्नेछ । थाइल्यान्डको ८, नेदरल्यान्ड्सको ४ अंक छ । नेपाल अंकविहीन छ ।
बलिङमा उत्कृष्ट प्रदर्शन गरेपछि नेपालको विजय सम्भावना बनेको थियो । तर पावर प्लेको पहिलो ६ ओभरमा १४ रन बनाउँदा नेपालले ममता चौधरी (०), कप्तान इन्दु बर्मा (३), विन्दु रावल (०), सम्झना खड्का (५) लाई गुमाइसकेको थियो ।
रुबिना क्षेत्री र पूजा महतोले पाँचौं विकेटमा ४४ रनको साझेदारी गरेपछि नेपालको आशा बढेको थियो । दुवैलाई ५ बलको अन्तरमा आउट गरी थाइल्यान्ड खेलमा फर्कियो । रुबिनाले ३० बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरी २६ र पूजाले २८ बल खेल्दै २ चौकासहित १८ रन बनाइन् । रोमा थापा र कविता जोशीले सातौं विकेटमा ३६ रनको साझेदारी गरेर नेपाललाई पुनः आशा दिलाए ।
१९ औं ओभरको पाँचौं बलमा कविता स्टम्पआउट हुनबाट जोगिएकी थिइन् । त्यसको अर्को बलमा उनी मिडविकेटमा क्याच दिन पुगिन् । कविताले २० बल खेल्दै ३ चौका र १ छक्कासहित २४ रन बनाइन् । रोमा १९ बलमा २ चौकासहित १९ रनमा अविजित रहिन् । एलिशा यादव शून्यमा रनआउट भइन् । रचना चौधरी २ रनमा अविजित रहिन् ।
मनीषा उपाध्यायले आफ्नो पहिलो ओभरमा सनसनी बलिङ गरेपछि नेपालले थाइल्यान्डको ब्याटिङलाई नियन्त्रणमा राखेको थियो । खेलको सातौं ओभरमा उनले आफ्नो पहिलो बलमै ओपनर अफिसारा सुवानचोनराथीलाई १७ रनमा एलबीडब्लू आउट गरिन् । तीन बलपछि उनले नटाकान चानथामलाई पनि शून्यमा एलबीडब्लुकै धरापमा पारिन् ।
सोही ओभरको अन्तिम बलमा मनीषाले कप्तान नारुइमोल चाइवाईलाई डाइरेक्ट हिटमा शून्यमा रनआउट गरिन् । मनीषा यत्तिमै रोकिनन् । यसै शृंखलाबाट महिला ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरेकी मनीषाले थाइल्यान्डकी प्रमुख ब्याटर नानापात कोन्चारोइनकाइलाई १९ रनमा आउट गरिन् । शृंखलाको पहिलो दुई खेलमा नेपाल र नेदरल्यान्ड्सविरुद्ध अर्धशतक बनाएकी कोन्चारोइनकाइले २३ बल खेल्दै २ चौका प्रहार गरेकी थिइन् ।
मनीषाको उत्कृष्ट प्रदर्शनपछि थाइल्यान्ड १३ ओभरमा ५६–६ को स्थितिमा पुगेको थियो । तर, थिपताचा पुथावोङ र चानिदा सुथिरुएङले सातौं विकेटमा ४३ बलमा ५० रनको अविजित साझेदारी गरे । पुथावोङ ३१ बल खेल्दै १ चौकासहित २५ र सुथिरुएङले २८ बलमा १ चौकासहित २७ रन बनाई अविजित रहिन् ।
नेपालले रचनालाई ‘डेब्यु’ गर्न दिएको थियो । मलेसियामा हालै सम्पन्न आईसीसी यू–१९ विश्वकपमा राम्रो प्रभाव पारेकी रचनालाई कविता कुँवरको स्थानमा ल्याइएको थियो । कविता शृंखलाको दोस्रो खेलमा ढाडमा चोट बोकेर प्रतियोगिताबाट बाहिरिएपछि रचनालाई टोलीमा समावेश गरिएको थियो । रचनाले ४ ओभरमा १६ रन खर्चेर १ विकेट लिइन् । रोमालाई नेपालले भेट्र्रान सीता रानामगरको स्थानमा खेलाइएको थियो । सीताले नेदरल्यान्ड्सविरुद्धको पछिल्लो खेलमा ५ विकेट लिनुका साथै अविजित १० रन बनाएकी थिइन् ।
अब नेपालले बुधबार नेदरल्यान्ड्स र शुक्रबार थाइल्यान्डसँग खेल्नेछ ।
