विश्वविद्यालय खेलकुद सुरु, मुकेश र विनालाई स्वर्ण

माघ २३, २०८१

कान्तिपुर संवाददाता

Varsity sports start, Mukesh and Vina win gold

काठमाडौँ — सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालयकी बिना थारुले दोस्रो विश्वविद्यालय खेलकुद महोत्सवअन्तर्गत १ सय मिटर दौडमा स्वर्ण पदक जितेका छन् । मुकेश पुरुष र बिना महिलामा विजेता भए ।

पोखरा रंगशालामा मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्डमा काठमाडौं विश्वविद्यालयका विकासकुमार शाह दोस्रो र ११.८४ सेकेन्डमा त्रिविका प्रकाश जोशी तेस्रो भए । बिनाले निर्धारित दूरी तय गर्न १४.४० सेकेन्ड खर्चिन् । त्रिविकी आकृति चौधरी १४.९० सेकेन्डमा दोस्रो तथा पूर्वाञ्चल विश्वविद्यालयकी प्रमिला खड्का १५.०० सेकेन्डमा तेस्रो बने ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको पुरुष लङजम्पमा पनि मुकेशले अर्को स्वर्ण जिते । उनले ६.७० मिटर जम्प गरे । सुदूरपश्चिमकै खेमराज जोशी (५.८२ मिटर) दोस्रो तथा टीयूका दिवस रेग्मी (५.५३ मिटर) तेस्रो भए ।

गण्डकी विश्वविद्यालयको सह–आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको समन्वयमा भइरहेको प्रतियोगिताको पुरुष ४ सय मिटर दौडमा त्रिविका सुशिलकुमार बानियँ पहिलो भए । उनले ५३.९१ सेकेन्डमा निर्धारित दूरी तय गरे । त्रिविका दिवस रेग्मी (५५.५६ सेकेन्ड) दोस्रो तथा सुदूरपश्चिमका दीपकराज भाट (५६.२९ सेकेन्ड) तेश्रो स्थानमा रहे ।

महिलामा मधेश प्रदेश विश्वविद्यालयकी हिमाली शाहीले स्वर्ण जितिन् । उनले निर्धारित दूरी पूरा गर्न १ मिनेट १०.४६ सेकेन्ड लगाइन् । टीयूकी राज्यलक्ष्मी रावल (१ मिनेट १०.४८ सेकेन्ड) ले रजत तथा गण्डकीकी कृति गिरी (१ मिनेट १५.३० सेकेन्ड) ले कांस्य हात पारे ।

Varsity sports start, Mukesh and Vina win gold

एथलेटिक्सको पहिलो दिन ५ स्वर्णको टुंगो लाग्दा सुदूरपश्चिम र त्रिविले २–२ स्वर्ण जितेका छन् । मधेश प्रदेशले १ स्वर्ण जितेको छ । १० स्पर्धा समावेश एथलेटिक्सको बााकी ५ स्पर्धाको फाइनल बिहीबार हुनेछ ।

खेलकुदलाई तहगत रूपमा विकास गर्ने उद्देश्यबाट विश्वविद्यालय खेलकुद प्रतियोगिता सुरु गरिएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बताएका छन् । दोस्रो विश्वविद्यालय खेलकुदको पोखरामा उद्घाटन गर्दै घिसिङले खेलेर पनि बाँच्न सक्ने कानुनी व्यवस्था गरिको जानकारी गराए ।

सहआयोजक गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा गणेशमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा परिषद्का सदस्य तथा कार्यक्रम संयोजक डा मधुसुदन सुवेदीले स्वागत मन्तव्य राखे ।   

माघ २४ सम्म हुने प्रतियोगितामा काठमाडौं, पूर्वाञ्चल, त्रिभुवन, पोखरा, गण्डकी, लम्बिनी, सुदूरपश्चिम, कृषि तथा वन विज्ञान र पूर्वान्चल विश्व विद्यालका टिम सहभागी छन् । भलिबल, एथलेटिक्स,टेबलटेनिस र व्याडमिन्टनमा गरी १९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भइरहेको प्रतियोगिताका सचिव तथा राखेप प्रतियोगिता विभाग प्रमुख मीनकुमार शर्माले बताए ।

कान्तिपुर

Link copied successfully