काठमाडौँ — आयोजक द एक्सेल्सियर स्कुलले ११ औं एक्सेल्सियर कप ब्वाइज बास्केटबलमा बुधबार विजयी सुरुआत गरेको छ ।
घरेलु कोर्टमा एक्सेल्सियरले ह्वाइटफिल्डलाई २७–११ स्कोरले पराजित गर्यो । एक्सेल्सियरका छिरिङ गुरुङले १२ स्कोर जोडे ।
सिनियर ब्वाइजमै संस्कृतिले पुष्पसदनलाई २२–२०, भ्याली भ्युले होली भिजनलाई ३४–२६ र रेडियन्ट पब्लिकले न्यु जेनिथलाई ४३–१९ ले हराए । संस्कृतिका प्राञ्जन शर्माले ९, भ्याली भ्युका गणेशबहादुर विष्टले १५ र रेडियन्टका सुप्रित लामिछानेले ११ स्कोर गरे ।
सिनियर गर्ल्समा रिब्सले निःसर्ग बाटिकालाई २४–१ तथा ल्यान्डमार्क एकेडेमीले एक्सेल्सियरलाई २१–५ ले हराए । रिब्सकी सुप्रिया मल्लले ९ र ल्यान्डमार्ककी प्रतिक्षा राईले ११ स्कोर बटुले ।
ब्वाइज फुटसलमा यू–१४ मा एक्सेल्सियरले जित पाएको छ । एक्सेल्सियरले काभ्यामाथि ७–१ गोलको जित पायो । एक्सेल्सियरका लागि कृष एक्लैले ४ गोल गर्दा साहिल, निक्सन र आयानले १–१ गोल थपे । काभ्याका प्रयुश दाहालले सान्त्वना गोल गरे ।
यू–१६ मा निःसर्ग वाटिकाले एक्सेल्सियरलाई २–० गोलले पराजित गर्यो । निःसर्गका सदिसनध्वज र अक्सिन दासले १–१ गोल गरे । बोधिसत्वविरुद्धको खेलमा निःसर्गले २–२ गोलको बराबरी खेल्यो ।
यू–११ मा काभ्याले संस्कृतिलाई २–० गोलले हरायो । काभ्याबाट दुवै गोल रेहान श्रेष्ठले गरे । भ्याली भ्यु र स्वस्तिश्री गुरुकुलबीचको खेल गोलरहित बराबरीमा सकियो ।
यू–९ मा काभ्याले एक्सेल्सियरलाई ४–१ गोलले हरायो । काभ्याका प्राञ्जलले ह्याट्रिक तथा सुवाशिषले १ गोल गरे । एक्सेल्सियरका सनिश रजौरेले १ गोल फर्काए । संस्कृतिले एक्सेल्सियरलाई ३–० गोलले पन्छायो । संस्कृतिका श्रीयान्श, आर्भे र अर्सवले १–१ गोले गरे ।
प्रतियोगिताको प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशका सदस्य–सचिव दीपक लामाले उद्घाटन गरे ।
