धनकुटा — जीतपुरमा भइरहेको महालक्ष्मी कप खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि गला इन्टरनेसनल काठमाडौंले उचालेको छ ।
वसन्त पञ्चमीको अवसरमा आयोजित क्लबस्तरीय राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा गलाले आयोजक ग्लोबल क्लब धनकुटालाई ३–२ को सेटले पराजित गर्यो । विजेताले २ लाख २ हजार २ सय २२ र उपविजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँ पुर्याएको छ ।
महालक्ष्मी कप खेलकुद समितिको आयोजनामा माघ १८ देखि सुरु प्रतियोगितामा ९ क्लबको सहभागिता रहेको आयोजकका अध्यक्ष नरेन तुम्साले बताए । खेलाडीलाई पुरस्कृत गर्दै महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज रायले यसले खेलकुद गतिविधि बढाएको बताए । महालक्ष्मी नगरपालिका र जिल्ला भलिबल संघलगायत विभिन्न संघसंस्थाले सहयोग गरेको आयोजकले जनाएको छ ।
