सुनसरी — भुटानी टीममाथि फराकिलो जित निकाल्दै ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड क्लब २५ औं संस्करणको आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ ।
बुधबार पहिलो सेमिफाइनलमा भुटानको आरटीसी एफसीलाई ७–० ले पराजित गर्दै चर्च ब्वाइज उपाधि नजिक पुगेको हो । चर्च ब्वाइजको जितमा समीर तामाङ र अर्मान्ड भिदोङले ह्याट्रिक गरेका थिए । पदम भट्टराईले एक गोल थपेका थिए । पहिलो हाफमा तीन गोल गरेको चर्च ब्वाइजले दोस्रो हाफमा चार गोल थप्यो ।
धरान रंगशालामा पहिलो हाफको आधा समय प्रतिस्पर्धात्मक खेलेको आरटीसीले सुरुमा नै अग्रता बनाउने सुनौलो अवसरमा खेर फाल्यो । खेलको १९ औं मिनेटमा नोयडा योसेल वान भर्सेस वानमा गोल गर्न असफल भए । त्यसपछि आरटीसीले कुनै अवसर सिर्जना गर्न नसक्दा उपाधि होडबाट बाहिरियो । अबायोमी फकुन्लेको पासमा समीरले खेलको २१ औं मिनेटमा गोल गरेर अग्रता दिलाए । चर्च ब्वाइजका अर्मान्डले २७ औं मिनेटमा गोल थपेपछि खेल २–० भयो । अर्मान्डले फकुन्लेको पासमा बललाई पोस्टको दिशा दिएका थिए । २९ औं मिनेटमा पदम भट्टराईले अर्मान्डकै पासमा आकर्षक हेड गोल गरेपछि पहिलो हाफमा चर्च ब्वाइज ३–० ले अगाडि रह्यो ।
दोस्रो हाफमा आरटीसीमाथी हाबी चर्च ब्वाइजका अर्मान्डले ५० औं मिनेटमा गोल थपे । एरिक बिष्टको कर्नरमा उनले आकर्षक हेड गोल गरे । अर्मान्डले ५२ औं मिनेटमा समीरले उपलब्ध गराएको बलमा गोल गरेर ह्याट्रिक पूरा गरेका थिए । ५६ औं मिनेटमा एरिकको पासलाई सदुपयोग गर्दै समीरले व्यक्तिगत गोल थपेपछि चर्च ब्वाइजले ६–० को अग्रता बनायो । खेलको ८५ औं मिनेटमा समीरले ह्याट्रिक पूरा गरे । यो गोलसँगै चर्च ब्वाइज ७–० ले विजयी भयो । म्यान अफ द म्याच चर्च ब्वाइजका समीर तामाङ भए । उनलाई १० हजार पुरस्कार प्रदान गरियो । बिहीबार दोस्रो सेमिफाइनलमा साबिक बिजेता एनआरटी र यूकेएफसी भारतबीच प्रतिस्पर्धा हुनेछ ।
