बुढासुब्बा गोल्डकप: पहिलो सेमिफाइनलमा चर्च ब्वाइज र भुटानी टोली प्रतिस्पर्धा गर्दै

माघ २३, २०८१

अर्जुन सुवेदी

Budhasubba Gold Cup: Church Boys and Bhutanese team compete in the first semi-final

सुनसरी — धरानमा जारी २५औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल खेल आजबाट सुरु हुँदैछन् ।

पहिलो सेमिफाइनलमा आज भुटानको आरटीसी फुटबल क्लब र ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । धरान रंगशालामा खेल दिउँसो सवा तीन बजे सुरु हुनेछ । 

चर्च ब्वाइजले क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै सेमिफाइनल खेल्न लागेको हो । भुटानी टोलीले राष्ट्रिय जागृती क्लब इटहरीलाई पराजित गर्दै चर्च ब्वाइजसँगको सेमिफाइनल भिडन्त पक्का गरेको थियो । 

दोस्रो तथा अन्तिम सेमिफाइनलमा बिहीबार साविक विजेता न्युरोड टिम एनआरटी र भारतको युनाइटेड खर्साङ फुटबल क्लब युके एफसीबिच हुनेछ । एनआरटी अन्तिम क्वाटरफाइनल खेलमा झापाको काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरिसकेको छ । 

युकेएफसीले आयोजक धरान फुटबल क्लबलाई पराजित गर्दै एनआरटीसँगको सेमिफाइनल भेट पक्का गरेको हो । फाइनल खेल शनिबार हुनेछ । गोल्डकपको विजेताले १० लाख रुपैयाँ तथा उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

अर्जुन सुवेदी

Link copied successfully