आहा-रारा पोखरा गोल्डकप : पुलिससँग सहाराको हार

माघ २३, २०८१

दीपक परियार

Aha-rara Pokhara Gold Cup: Sahara lost to Police

पोखरा — आहा–रारा पोखरा गोल्डकप फुटबलमा सर्वाधिक सफल र अनुभवी टिम नेपाल पुलिस क्लबले २४ औं संस्करणमा विजयी सुरुआत गरेको छ । पोखरा रंगशालामा मंगलबार आयोजक सहारा क्लबलाई १–० ले स्तब्ध पार्दै पुलिसले क्वाटरफाइनल यात्रा तय गरेको हो ।

उद्घाटन खेलमा उज्ज्वल राईको गोल मद्दतमा ६ पल्टको उपाधि विजेता पुलिस क्वाटरफाइनल पुगेको छ । खेलको ३७ औं मिनेटमा पाएको कर्नरको सदुपयोग गर्दै उज्ज्वलले पुलिसलाई अग्रता दिलाए ।

उनको देब्रे खुट्टाको प्रहारले सेकेन्ड बार नजिकैबाट जाली चुम्दै सानदार गोलमा परिणत भएको थियो । उनी प्लेयर अफ द म्याच घोषित भए । यसअघि झापा–११ बाट समेत खेलेका उनी दुई वर्षदेखि पुलिससँग आवद्ध छन् । 

पुलिसले माघ २६ मा ब्रिगेड ब्वाइज क्लब यूकेसँग क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछ । तीन विदेशी खेलाडी र आफ्नै एकेडेमीका खेलाडी लिएर मैदानमा उत्रिएको सहारा यसपल्ट पहिलो खेलमा हार बेहोरेसँगै प्रतियोगिताबाट बाहिरिएको छ । आहा–रारामा पुलिस र सहाराबीच छैटौं भेटमा पनि आयोजकले जित निकाल्न सकेन । खेलको सुरुआती समयमा केही उत्कृष्ट अवसर सिर्जना गरे पनि सहारा गोल गर्नबाट चुक्यो । 

Aha-rara Pokhara Gold Cup: Sahara lost to Police

खेलको सातौं मिनेटमा सहाराका अफ्रिकी मूलका खेलाडी आर्नोल्डको पासमा अर्का विदेशी खेलाडी विलियम सेसेगननले सिक्स यार्ड बक्सबाट प्रहार गरेको बललाई पुलिसका गोलकिपर शत्रुधन चौधरीले उत्कृष्ट बचाउ गरे । खेलको १७ औं मिनेटमा पुलिसले अवसर खेर फाल्यो । सुजन मगरले मिलाइदिएको पासमा विवेक पाण्डेको प्रहार बाहिरियो । खेलको २४ औं मिनेटमा सहाराले अर्को अवसर गुमायो । सेसेगननको पासमा सन्तबहादुर गुरुङको पावरसट क्रसबारमाथिबाट बाहिरिन पुगेको थियो ।

प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका थिए । सहारा क्लबले यस वर्षको उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान सनिश श्रेष्ठलाई प्रदान गरेको छ । उद्घाटन समारोहमा उनलाई ५० हजार ५ सय ५५ रुपैयाँसहित क्लबले सम्मान गरेको हो । 

दीपक परियार परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully