पोखरा — विभागीय टिम एपीएफ फुटबल क्लबलाई पराजित गर्दै मछिन्द्र फुटबल क्लब पोखरामा जारी २४ औं आहा–रारा पोखरा गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ ।
पोखरा रंगशालामा बुधबार भएको प्रि–क्वाटरफाइनल खेलमा मछिन्द्रले २–० ले एपीएफलाई पराजित गरेको हो ।
दोस्रो हाफमा मैदान प्रवेश गरेका आदित्य शाक्यले खेलको ७४ औं मिनेटमा गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । आयुष ग्लानको पासलाई उनले उत्कृष्ट फिनिसिङ दिएका थिए । खेलको ८१ औं मिनेटमा स्टेफेन कामाहाले हेडर गोलमार्फत अग्रता दोब्बर बनाउँदै जित सुनिश्चित गरे । दीपेन्द्र तामाङको पासलाई उनले जाली चुमाएका थिए । क्यामरुनका खेलाडी स्टेफेन खेलमा प्लेयर अफ द म्याच घोषित भए ।
यसअघि २०७८ को २० औं आहा–रारा गोल्डकपमा एपीएफले मछिन्द्रलाई सेमिफाइनलमा हराएको थियो । त्यही वर्ष एपीएफले उपाधि जितेको थियो । मछिन्द्र भने हालसम्म उपाधिविहीन छ ।
माघ २७ मा हुने क्वाटरफाइनलमा मछिन्द्रले थ्रीस्टार क्लबसँग खेल्ने छ । बिहीबारको खेल एनआरटी र चर्च ब्वाइज युनाइटेडबीच हुने छ ।
