पूजा ‘टिम अफ द टुर्नामेन्ट’ मा

नेपालकी कप्तान पूजा महतो आईसीसी महिला यू–१९ ट्वान्टी–२० विश्वकपको उत्कृष्ट १२ खेलाडी सूचीमा परेकी छन् ।

माघ २२, २०८१

कान्तिपुर संवाददाता

Pooja in the 'Team of the Tournament'

काठमाडौँ — नेपालकी कप्तान पूजा महतो आईसीसी महिला यू–१९ ट्वान्टी–२० विश्वकपको उत्कृष्ट १२ खेलाडी सूचीमा परेकी छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सोमबार सार्वजनिक गरेको ‘टिम अफ द टुर्नामेन्ट’ मा पूजा एसोसिएट क्षेत्रबाट एक्ली खेलाडीको रूपमा छन् ।

मलेसियामा सम्पन्न प्रतियोगितामा पूजाले ९ विकेट लिएकी थिइन् । उनले समूह चरणसम्मका खेलमा ती विकेट लिएकी हुन् । साथै पूजाले ब्याटिङबाट २०.३३ औसतमा ७० रन बनाएकी थिइन् । उनले ४ विकेट लिनुका साथै अविजित २३ रन बनाएपछि नेपालले प्लेअफ खेलमा मलेसियालाई ७ विकेटले पराजित गरेर सान्त्वना खुसी बटुलेको थियो ।

समूह चरणमा बंगलादेशसँग ५ विकेट, स्कटल्यान्डसँग १ विकेट र अस्ट्रेलियासँग ८३ रनले पराजित भएपछि नेपाल दोस्रो चरण पुग्न असफल रह्यो । आइतबार सम्पन्न प्रतियोगिताको फाइनलमा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गरी भारत च्याम्पियन बनेको थियो । भारतका सबैभन्दा धेरै ४ खेलाडीले ‘टिम अफ द टुर्नामेन्ट’ मा स्थान बनाए । त्यसमा गोनगाडी तृषा पनि छन् । उत्कृष्ट खेलाडीमा चुनिएकी उनले सर्वाधिक ३ सय ९ रन बनाएकी थिइन् । अन्य तीन खेलाडीमा जी कामालिनी, आयुषी शुक्ला र वैष्णवी शर्मा छन् । दक्षिण अफ्रिकाकी कायला रेयनेकेलाई कप्तान चुनिएको छ । 

कान्तिपुर

Link copied successfully