काठमाडौं छनोटमा महावीर सेमिफाइनल प्रवेश

माघ २२, २०८१

कान्तिपुर संवाददाता

Mahavir semi-final entry in Kathmandu selection

काठमाडौँ — महावीर क्लब प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटलाई भइरहेको काठमाडौं जिल्ला छनोट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । समूहको सबै तीन खेल जित्नेक्रममा महावीरले मंगलबार पुष्पलाल स्पोर्ट्स क्लबलाई १ सय २९ रनले हरायो ।

राकेश कर्णले ४४ बलमा ८० रन बनाएपछि महावीरले निर्धारित २० ओभरमा ९ विकेट गुमाई २ सय ४ रन बनाएको थियो । सोनु देवकोटाले १६ बलमा र रिजन थापाले ३७ बलमा ४१ रन बनाए । पुष्पलालबाट रामा रोकाया, ओमप्रकाश डाँगी र विकास आचार्यले १–१ विकेट लिए । जबाफमा पुष्पलाल १७.५ ओभरमा ८० रनमै अलआउट भयो । दीपक भण्डारीले ४४ बलमा ३४ र विकेव मण्डलले १४ बलमा १३ रन बनाए ।

अर्को खेलमा थर्ड आई युथ क्लबले ओएसिस क्रिकेट क्लबलाई ४ रनले पराजित गर्‍यो । थर्ड आईले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ३५ रन जोड्दा सुरज खड्काले २८ बलमा ३०, सुरज थापाले २६ बलमा २३ र ललित महतोले ११ बलमा अविजित २१ रन बनाए । ओएसिसबाट निर्जन श्रेष्ठले २१ रन खर्चेर ३, सुवोध ढुंगेलले २ र पञ्चाङ्ग मिश्रले १ विकेट लिए ।

ओएसिसले ८ विकेट गुमाई १ सय ३१ रनमात्र बनाउन सक्यो । रोशन पुलामीमगरले २७ बलमा ४१, निश्चल श्रेष्ठले ३४ बलमा अविजित ४१ र सुबोधले २९ बलमा ३४ रन बनाए । थर्ड आईका गणेश विष्टले १४ रन खर्चेर ३, सुशील आचार्य र सुरज थापाले २–२ विकेट लिए ।  

कान्तिपुर

Link copied successfully