पोखरामा बुधबारदेखि दोस्रो विश्वविद्यालय खेलकुद

माघ २२, २०८१

कान्तिपुर संवाददाता

Second University Games in Pokhara from Wednesday

काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा दोस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता बुधबारदेखि पोखरामा हुने भएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको राखेपका सदस्य एवं आयोजक समितिका संयोजक मधुसुदन सुवेदीले मंगलबार पोखरा रंगशालामा आयोजित पत्रकार सम्मेलनमा बताए ।

विश्वविद्यालयमा अध्ययनरत २८ वर्षमुनिका विद्यार्थीभित्र रहेको खेल प्रतिभाको प्रष्फुटन गराउने तथा खेलाडीलाई हौसला र प्रेरणा प्रदान गर्ने उद्देश्यसहित राखेपले गत वर्षबाट विश्वविद्यालय खेलकुद प्रतियोगिता गर्न थालेको हो ।

गण्डकी विश्वविद्यालयको सह–आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको समन्वयमा हुन लागेको प्रतियोगितामा एथलेटिक्स, भलिबल, ब्याडमिन्टन र टेबलटेनिस गरी ४ खेलमा प्रतिस्पर्धा हुनेछ । विभिन्न ९ विश्वविद्यालयको सहभागिता रहने प्रतियोगितामा १९ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । एथलेटिक्सको पुरुष/महिलामा ५–५ स्पर्धामा खेल हुनेछ । ब्याडमिन्टन र टेबलटेनिसमा पुरुष/महिला सिंगल्स र डबल्समा खेल हुनेछ । भलिबलमा पुरुषतर्फ मात्र खेल हुनेछ ।

प्रत्येक विश्वविद्यालयबाट २६ का दरले ९ विश्वविद्यालयबाट २ सय ३४ खेलाडी सहभागी हुन् छन् । सहभागी हुने विश्वविद्यालयमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, मध्यपश्चिमान्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय र गण्डकी विश्वविद्यालय रहेका छन् । दुईदिने प्रतियोगिताका सम्पूर्ण खेल पोखरा रंगशाला हातामा हुनेछ ।

कान्तिपुर संवाददाता

Link copied successfully