संखुवासभा — आयोजकलाई हराउँदै रामेछापको लिखुभुजी युथ संखुवासभाको मूलखर्कमा जारी ४६ औं हाङथुम कपको सेमीफाइनलमा प्रवेश गरेको छ ।
रामेछापले आयोजक हाङथुम क्लबलाई १-o गोलले हराउँदै सेमीफाइलमा प्रवेश गरेको हो । मंगलबारको खेलमा रामेछापको तर्फबाट दोस्रो हाफको ३५ औं मिनेटमा करण खड्काले गोल गरेका थिए । करणको एकमात्रै गोलले रामेछापलाई सेमिफाइनलको यात्रामा पुर्याएको हो । हाङथुमले पटकपटक गोल गर्ने अवसर चुकाएको थियो ।
बुधबार झापाको चुलाचुली स्पोर्टिङ र संखुवासभाको एड्भान्स क्लबबीच तेस्रो खेल हुनेछ । प्रतियोगिताका विजेताले २ लाख २० हजार २ सय रुपैयाँ र उपविजेताले १ लाख १० हजार १ सय रुपैयाँ पाउनेछन् ।
प्रतियोगितामा झापा, धनकुटा, सुनसरी, रामेछाप र संखुवासभाका गरी ८ टिम सहभागी छन् । प्रतियोगिताको फाइनल माघ २६ मा हुनेछ ।
