सुनसरी — साबिक विजेता एनआरटीले मंगलबार २५ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ । मंगलबार अन्तिम क्वाटरफाइनलमा एनआरटीले झापाको काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३–१ गोलले पराजित गरेको हो । एनआरटीका लागि शिशिर लेखी, सरोज घिसिङ र रोहन खड्गीले गोल गरेका थिए । काकडभिट्टाका रोबर्ट खोन्जोउले एक गोल फर्काए ।
धरान रंगशालामा खेलको पहिलो हाफमा दुवै टिमले पाएका केही अवसर सदुपयोग गर्न नसक्दा गोलरहित खेले । दोस्रो हाफमा एनआरटीले काँकडभिट्टामाथि दबाब बढाएपछि ३–१ को जित निकालेको हो । दोस्रो हाफलगत्तै ४८ औं मिनेटमा शिशिरको गोलबाट अग्रता लिएको एनआरटीले ६० औं मिनेटमा सरोजको गोलबाट अग्रता दोब्बर बनायो । ६१ औं मिनेटमा काँकडभिट्टाका रोबर्टले गोल फर्काएपछि खेल २–१ को स्थितिमा पुग्यो । ७९ औं मिनेटमा वैकल्पिक खेलाडी रोहनले गोल गरेपछि एनआरटीले पुनः अग्रता फराकिलो बनायो । उनी खेलको ६६ औं मिनेटमा गिरोन नाहाको ठाउँमा मैदान छिरेका थिए ।
प्लेयर अफ द म्याच एनआरटीका शिशिर लेखी भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । एनआरटीले सेमिफाइनलमा भारतको युनाइटेड खर्साङ फुटबल क्लबसँग फाइनल पुग्नका लागि बिहीबार खेल्नेछ । बुधबार पहिलो सेमिफाइनलमा भुटानको आरटीसी एफसी र ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।
