काठमाडौँ — प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितालाई भइरहेको काठमाडौं जिल्ला छनोटमा सोमबार वानडे क्रिकेट एकेडेमी र फरइभर क्रिकेट ब्वाइज क्लब विजयी भएका छन् । वानडेले हिमालयन क्रिकेट एकेडेमी ‘बी’ लाई ५७ रन र फरइभरले नेक्सस क्रिकेट एकेडेमीलाई ५ विकेटले हराए ।
विश्वास खत्रीले २६ बलमा २९, नीरज ओलीले ३० बलमा २५ र भूपेश्वर महतोले १८ बलमा १३ रन बनाएपछि वानडेले मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय २३ रन बनाएको थियो । हिमालयनका सुमन विश्वकर्माले ११ रन खर्चेर ४ र आदित्य थापाले २४ रन खर्चेर २ विकेट लिए ।
जवाफमा हिमालयन १३ ओभरमा ६६ रनमा अलआउट भयो । अभिषेक बुढाऐरले ३६ बलमा ३० रन बनाउनुबाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । नवीनकुमार जोशीले १६ बलमा ९ रन बनाए । वानडेका मणि गैरेले १३ रन खर्चेर ५, विकल्प थापाले १३ रन खर्चेर २ र भूपेश्वरले १ विकेट लिए ।
अर्को खेलमा नेक्ससले ७ विकेट गुमाई १ सय ११ रन बनायो । मोहम्मद दिलसाद आलमले ६१ बलमा अविजित ६३ रन बनाए । अनिलकुमार यादवले १६ र कासिफ समादले १० रन बनाए । फरइभरका अजय नकर्मी र पंकज पन्तले २–२ तथा लक्ष्मण कार्कीले १ विकेट लिए । जतिन थापाले अविजित २७, अजयले २१ र कृष्ण भट्टले अविजित १२ रन बनाएपछि फरइभरले १७.३ ओभरमा लक्ष्य पूरा गरेको थियो । नेक्ससका विप्लव फुयालले २ तथा सुरज राई र सुयोग दाहालले १–१ विकेट लिए ।
