धनगढी — सीवाईसी अत्तरिया र डीसीए धनगढीले अर्जॅन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार जित हात पारेका छन् । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा भीम सार्की र विवेक यादव चम्किएपछि अत्तरियाले दशरथ चन्द एकेडेमी बैतडीलाई २६ रनले पराजित गर्यो ।
टस हारेर ब्याटिङको निम्तो पाएको अत्तरियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाइ १ सय ६४ रन बनायो । भीमले ७० रनको अविजित इनिङ्स खेल्नेक्रममा ३३ बल खेलि ६ चौका र ४ छक्का प्रहार गरे । तृतराज दासले ३०, शंकर रानाले २५, विवेक यादवले १७ बलमा ३ चौकासहित अविजित २५ रन बनाए । बैतडीका अमर रौटेलाले २ र रुपेश सिंहले १ विकेट लिए ।
जबाफमा दशरथ चन्द एकेडेमीले २० ओभरमा ९ विकेट गुमाई १ सय ३८ रनमात्र बनाउन सक्यो । हिमाल दुलियाले ३९, बसन्त खत्रीले २३ र सुमित बडालले १८ रन जोडे । प्लेयर अफ द म्याच विवेकले उत्कृष्ट बलिङ गरे । उनले चार ओभरमा २५ रन दिएर चार विकेट लिए । साहब आलम र कमल गुप्ताले २–२ तथा दिपेश कँडेलले १ विकेट लिए ।
दोस्रो खेलमा धनगढीले घोडाघोडी ११ लाई ६९ रनले पराजित गर्यो । टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले ९ विकेटको क्षतिमा एक सय ४९ रन बनायो । राजु रिजालले २७ बलमा ३७, लोकेश बमले ३१, अभिषेक पालले २८ र कप्तान नारायण जोशीले १९ रन बनाए । घोडाघोडीका धर्मराज जोशीले ३ र नरेन साउदले २ विकेट लिए । धनगढी पहिलो खेलमा पराजित भएको थियो ।
घोडाघोडी १६.५ ओभरमा ८० रनमा अलआउट भयो । टेक रावतले १८ रन र दीपक टमाटाले १३ रन बनाए । धनगढीका ललीत राजवंशीले तीन विकेट लिदैं प्लेयर अफ द म्याच भए । धनगढीका मिलन बोहोरा र राहुल भण्डारीले २–२ विकेट लिए । सोमबार फेन्ड्स क्लब डडेलधुरा र बोस्टन क्रिकेट झापा तथा अत्तरिया र क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौं बीच प्रतिस्पर्धा गर्नेछन् ।
