सुनसरी — आयोजक धरान फुटबल क्लबलाई पराजित गर्दै युनाइटेड खर्साङ फुटबल क्लब यूकेएफसी २५ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । धरान रंगशालामा आइतबार भएको दोस्रो क्वाटरफाइनलमा खर्साङले धरानलाई सडेन डेथमा पराजित गर्यो ।
निर्धारित समयमा दुवैबाट १–१ गोलको बराबरी भएपछि समय अभावका कारण खेलको निर्णय सिधै पेनाल्टी सुटआउटबाट लिइएको थियो । पेनाल्टी सुटआउटमा दुवै टिमले ५–५ गोल गरेपछि सडेन डेथमा धरानका प्रज्वल थापाले गोल गरे पनि मनोज राईको प्रहार खेर गयो ।
यूकेएफसीबाट छैटौं र सातौं प्रहारमा क्रमशः आकाश प्रधान र हेमराज भुजेलले गोल गरेका थिए । निर्धारित समयको खेलमा १८ औं मिनेटमा भुजेलको गोलबाट खर्साङले अग्रता लिएको थियो । ४० औं मिनेटमा आयोजक क्लबका विनोद राई गोल फर्काएका थिए ।
सेडन डेथमा निर्णायक गोल गरेका भुजेल प्लेयर अफ द म्याच भई नगद १० हजार पुरस्कार पाए । खर्साङले गत वर्ष आयोजक धरानसँग व्यहोरेको हारको बदला लिएको छ । गत संस्करणमा पाहुना टोली आयोजकसँग सडेन डेथमा १०–९ गोल अन्तरले पराजित भएको थियो ।
