महिला टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक क्रिकेट शृंखलामा नेपालको लगातार तेस्रो हार
काठमाडौँ — सीता रानामगरको उत्कृष्ट बलिङमा नेपालले सानदार पुनरागमन गरे पनि नतिजा पुनः आफ्नो पक्षमा पार्न सकेन र महिला टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक क्रिकेट शृंखलामा लगातार तेस्रो हार बेहोर्न बाध्य भयो । नेदरल्यान्ड्सले आइतबार नेपाललाई १५ रनले पराजित गर्यो ।
टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्स त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार पहिलो १० ओभरको समाप्तिमा ८५–३ को मजुबत स्थितिमा रहेको थियो । तर देब्रेहाते स्पिनर सीताले आफ्नो खेल जीवनको उत्कृष्ट बलिङ प्रदर्शन गर्दै ५ विकेट लिएपछि नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ४० रनमात्र बनाउन सकेको थियो ।
१८ औं ओभरमा आफ्नो दोस्रो ओभर बलिङ गर्दै सीताले नेदरल्यान्ड्सका कप्तान बाबेट डी लिडेसहित अर्का दुई खेलाडीलाई आउट गरेका थिए । उनले इनिङ्सको अन्तिम ओभरमा थप २ विकेट लिएपछि नेपालले बलिङमा सानदार पुनरागमन गरेको थियो । सीताले ३ ओभरमा १२ रन खर्चेर ५ विकेट लिइ आफ्नो उत्कृष्ट बलिङ प्रदर्शन गरिन् । २०२३ को अगस्टमा हङकङविरुद्ध उनले मलेसियामा १६ रन खर्चेर ५ विकेट लिएकी थिइन् । मनीषा उपाध्यायले ४ ओभरमा ३१ रन खर्चेर २ तथा कविता जोशी र कप्तान इन्दु बर्माले १–१ विकेट लिइन् ।
डी लिडेले सर्वाधिक ४१ रन बनाए । उनले ३८ बल खेली ४ चौका र १ छक्का प्रहार गरे । हिथर सिगर्सले २३ बल खेली ३ चौकासहित २६ तथा ओपनर फेबे मोल्केनबोइर र रोबिने रिज्केले समान २१ रन बनाए ।
यसअघिका दुवै खेलमा पराजित नेपालले घाइते कविता कुँवरको स्थानमा स्पिनर रेवती धामीलाई डेब्यु गर्न दिएको थियो । तर अनौठो बलिङ एक्सनबाट १ ओभर बलिङ गरेर १० रन दिएकी उनलाई फेरि नेपालले बलिङमा ल्याएन । थाइल्यान्डविरुद्धको अघिल्लो खेलमा मध्यम गतिका बलर कविताले २ ओभर बलिङ गरेपछि ढाँडमा चोट बोक्न पुगेका थिइन् ।
नेपालले ब्याटिङमा पुनः निराश बनायो । सम्झना खड्का र ममता चौधरीले पावर प्लेभित्र ३१ रन जोडेर सानदार सुरुआत दिलाए पनि नेपालले ८ विकेट गुमाई १ सय २५ रनमात्र बनाउन सक्यो । छैटौं ओभरको पाँचौं बलमा ममता ७ रन बनाई स्टम्प आउट भएपछि यो साझेदारी टुटेको थियो । अर्को ओभरमा सम्झना पनि २५ बलमा २३ रन बनाई आउट भइन् । उनले ४ चौका प्रहार गरिन् ।
कप्तान इन्दु बर्माले सर्वाधिक ३० रन बनाइन् । उनले ३२ बल खेल्दै १ छक्का प्रहार गरिन् । पूजा महतोले १८ बल खेली १ चौका प्रहार गरी १८, कविता जोशीले १५ बल खेली एक छक्कासहित १४ र सीताले ६ बल खेली अविजित १० रन बनाइन् । नेदरल्यान्ड्सबाट आइरिस विलिङ, क्यारोलिन डि लाङगे र हिथर सिगर्सले २–२ तथा इभा लिन्च र इसाबेल भान डेर वोनिङले १–१ विकेट लिइन् ।
पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित नेपालले अघिल्लो दिन थाइल्यान्डसँग ४ विकेटको हार बेहोर्नुपरेको थियो । नेदरल्यान्ड्सको ३ खेलमा यो दोस्रो जित हो । अघिल्लो खेलमा डच टोली थाइल्यान्डसँग ८ विकेटले पराजित भएको थियो । सहभागी टोलीले एक अर्कासँग तीन पटक खेल्नेछ र सर्वाधिक अंक ल्याउने टोली विजेता बन्नेछ । थाइल्यान्ड पहिलो दुई खेलमै विजयी रहेको छ ।
