आफूभन्दा माथिल्लो स्तरको टोलीसँग खेलिरहेको नेपालको लगातार दोस्रो हार
काठमाडौँ — नेपालसामु एउटा यस्तो अवसर आएको थियो, जहाँ थाइल्यान्डलाई महिला क्रिकेटमा दशकभन्दा बढी यता पहिलो पटक पराजित गर्न सक्थ्यो । कप्तान इन्दु बर्मा आफैं क्याच छुटाउन पुगिन् र जारी त्रिकोणात्मक महिला ट्वान्टी २० क्रिकेट शृंखलामा शनिबार नेपालले यो अवसर गुमाउन पुग्यो ।
नानापात कोन्चारोनेकाईले लगातार दोस्रो अर्धशतक बनाएपछि थाइल्यान्डले नेपाललाई ४ विकेटले पराजित गर्यो । उनी ४६ रनमा भएको समयमा नेपालले पाएको अवसरमा खेल आफ्नो पक्षमा पल्टाउन मद्दत गर्दथ्यो । तर रुविना क्षेत्रीको बलमा इन्दुले नियमित क्याच फुत्काउन पुगिन् ।
जतिखेर थाइल्यान्ड १६ औं ओभरमा ७४–५ को स्थितिमा थियो । थाइल्यान्डलाई अझै १८ बलमा २२ रन बनाउनु अवस्था थियो । तर त्यसपछि कोन्चारोनेकाईले कुनै अवसर दिइनन् । उनले अविजित ६० रन बनाएपछि थाइल्यान्डले १ सय २ रनको लक्ष्य ६ बल अगाडि पूरा गर्यो । नेदरल्यान्ड्सविरुद्ध अविजित ५६ रन बनाएकी उनले ५८ बल खेल्दै ५ चौका प्रहार गरिन् ।
थाइल्यान्डले १८ औं ओभरमा १४ रन प्रहार गरेर खेल आफ्नो पक्षमा पारेको थियो । त्यसमा कोन्चारोनेकाईले १ चौका र सुवानान खिएटोले एक छक्का प्रहार गरिन् । खिएटोले १४ र कप्तान नारुइमोल चाइवाईले १३ रन बनाइन् । नेपालबाट मनिषा उपाध्यायले २ विकेट लिइन् । अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक बलिङ गरेकी उनले ४ ओभरमा १३ रन खर्चिन् । कविता कुँवर, रुविना क्षेत्री र कविता जोशीले १–१ विकेट लिइन् ।
शृंखलामा थाइल्यान्डको यो लगातार दोस्रो विजय हो । नेदरल्यान्ड्सलाई शुक्रबार थाइल्यान्डले ८ विकेटले पराजित गरेको थियो । नेपालको हकमा यो लगातार दोस्रो पराजय हो । नेदरल्यान्ड्सले बिहीबार नेपाललाई २० रनले पराजित गरेको थियो । नेपालले आइतबार नेदरल्यान्ड्ससँग खेल्ने छ ।
यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित २० ओभर खेली ९ विकेट गुमाई १ सय १ रन बनाएको थियो । नेपालको ब्याटिङलाई लिएर प्रशिक्षक मनोज कटुवाल सन्तुष्ट थिएनन् । ‘हामीले १ सय ४० रनको लक्ष्य बनाएर ब्याटिङका लागि ओर्लिएका थियौं, तर हाम्रो ब्याटरहरूले राम्रो गर्न सकेनन्,’ उनले भने, ‘त्यही अनुसार हामीले ब्याटिङक्रममा परिवर्तन गर्यौं तर त्यसमा हामी सफल हुन सकेनौं ।’
ममता चौधरीलाई ओपनिङमा ओराल्दै नेपालले सीता रानामगरलाई मध्यक्रममा पठाएको थियो । तर ओपनर सम्झना खड्का दोस्रो बलमै एलबीडब्लू आउट भइन् भने शृंखलामा पहिलो खेल खेल्ने मौका पाएकी अर्की ओपनर ममता पनि २ रनमै आउट भएपछि नेपाल सुरुआत देखि नै दबाबमा थियो । आक्रामक खेलेकी इन्दु बर्मा १७ बल खेली २ चौका प्रहार गर्दै १५ रनमा बोल्ड भइन् ।
पूजा महतो ८ बलमा ६ रन बनाइ आउट भइन् । पूर्व कप्तान रुविना ४ रनमा रनआउट भइन् । कविता कुँवर र विन्दु रावलले समान २५ रन बनाइन् । कविताले ३२ बल खेलि २ चौका र विन्दुले २५ बल खेली ३ चौका प्रहार गरिन् ।
एक छक्का प्रहार गरेकी कविता जोशी ९ बलमा ८, सीता रानामगर २ रनमा आउट भइन् । एलिसाकुमारी यादव २ र मनिषा १ रन बनाई अविजित रहिन् । थाइल्यान्डबाट थिपात्चा पुथावोङले ४ ओभरमा १ मेडन राख्दै १७ रन खर्चेर ३, फनिता माया र नताया बुचाथामले २–२ विकेट लिए ।
नेपालले २०११ यता थाइल्यान्डलाई पराजित गर्न सकेको छैन । सन् २०१९ मा नेपालले ट्वान्टी २० अन्तर्राष्ट्रिय मान्यता पाए यता थाइल्यान्डविरुद्ध खेलेको सवै तीन खेलमा पराजित हुँदै आएको छ ।
