ललितपुर — दोस्रो संस्करणको गोदावरी नगरपालिका स्तरीय अन्तरविद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक श्री ज्ञान कुण्ड युवा क्लबको आयोजनामा मंगलबारदेखि सुरु हुने प्रतियोगितामा नगरपालिकाभित्रका १७ वटा विद्यालयले प्रतिस्पर्धा गर्दै छन् ।
आयोजकले आइतबार पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जानकारी गराउँदै टाइसिट पनि ड्र गरिएको थियो । १७ टिमलाई ४ वटा समूहमा विभाजन गरिएको छ । समूह बीमा ५ टिम रहँदा अन्य तीन समूहमा भने चार चार टिम रहेका छन् ।
लिग कम नकआउट प्रतिस्पर्धामा हरेक समूहका शीर्ष २ टोली क्वाटरफाइनलमा प्रवेश गर्ने आज आयोजित पत्रकार सम्मेलनमा ज्ञानकुण्ड युवा क्लबका कार्यबहाक अध्यक्ष एवं प्रतियोगिता संयोजक निकेश श्रेष्ठले बताए । नगरपालिकाभित्रका विद्यालयहरुमा खेलकुदको विकासका लागि क्लबले प्रतियोगिता आयोजना गरेको संकटा क्लबका पूर्व खेलाडी पनि रहेका दीपक श्रेष्ठले जानकारी दिए ।
यसैगरी गोदावरी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष मिलन सिलवालले नगरपालिकाले खेलकुद पूर्वाधारका लागि काम गरिरहेको जानकारी गराउँदै युवा र खेलकुदको क्षेत्रमा काम गर्न आफूहरु सधैं तयार रहेको प्रतिवद्धता जनाए ।
