सुनसरी — आयोजक धरान फुटबल क्लबलाई पराजित गर्दै युनाईटेड खर्साङ फुटबल क्लब युकेएफसी २५ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
धरान रंगशालामा आइतबार भएको दोस्रो क्वाटरफाइनलमा पाहुना टोली युनाईटेड खर्साङ फुटबल क्लबले आयोजक धरान फुटबल क्लबलाई सडेन डेथमा ७–६ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । निर्धारित समयमा दुवै टिमबाट १–१ गोलको बराबरी भएपछि समय अभावका कारण खेलको निर्णय सिधै पेनाल्टी सुटआउटबाट लिइएको थियो । पेनाल्टी सुटआउटमा दुवै टिमबाट ५–५ गोल भएपछि खेल सडेन डेथमा धकेलिएको थियो । सडेन डेथमा धरानका मनोज राईको प्रहार खेर जाँदा युकेएफसीका हेमराज भुजेलको प्रहारले जाली चुमेपछि पाहुना टोली सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भएको हो । त्यसअघि निर्धारित समयको १८ औं मिनेटमा भुजेलको गोलबाट यूकेएफसीले अग्रता लिएको थियो । तर खेलको ४० औं मिनेटमा आयोजक क्लबका विनोद राई गोल फर्काएपछि खेल १–१ को बराबरीमा आएको थियो । पहिलो हाफमा १–१ को बराबरी खेलेका दुवै टिमबाट दोस्रो हाफमा गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउट हुँदै सडेन डेथमा धकेलिएको थियो ।
सेडन डेथमा निर्णायक गोल गरेका भुजेल खेलको म्यान अफ द म्याच घोषित भए । उनले नगद १० हजार पुरस्कार पाए । विजेता यूकेएफसीले न्युरोड टिम एनआरटी र काकडभिटा फुटबल टेनिङ सेन्टर झापाबीच मंगलबार हुने अन्तिम क्वाटरफाइनल खेलको बिजेतासँग बिहीबार सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
आइतबारको जितसँगै यूकेएफसीले २४ औं संस्करणमा आयोजक धरान फुटबल क्लबसँग ब्यहोरेको हारको बदलासमेत लिएको छ । गत संस्करणमा यूकेएफसी आयोजकसँग सडेन डेथमा १०–९ गोल अन्तरले पराजित भएको थियो । तर २३ औं संस्करणको उद्घाटन खेलमा भने आयोजक धरान फुटबल क्लबलाई यूकेएफसीले पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले पराजित गरेको थियो ।
सोमबार हुने तेस्रो क्वाटरफाइनलमा भुटानको आरटीसी फुटबल क्लब र इटहरीको राष्ट्रिय जागृती क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
